‘समृद्ध प्यूठान’ को एजेन्डासहित प्राडा पोखरेल मैदानमा


प्यूठान । विकास र अर्थतन्त्रका विज्ञ प्राडा गोविन्दराज पोखरेल यतिबेला ‘समृद्ध प्यूठान’ को सपना बोकेर चुनावी मैदानमा छन्। विगतमा विकासको स्पष्ट दृष्टि र नीतिगत समझ भएका प्रतिनिधि नहुँदा जिल्ला पछाडि परेको उनको दाबी छ । यसपटक भने ऊर्जा, अर्थतन्त्र र दीर्घकालीन विकास योजनाको स्पष्ट खाका लिएर उनी मतदाता माझ पुगेका छन् ।

शैक्षिक र बौद्धिक पृष्ठभूमि
भारतबाट इन्जिनियरिङमा स्नातक अध्ययन गरेका पोखरेलले जर्मनीबाट स्नातकोत्तर तथा विद्यावारिधि उपाधि हासिल गरेका छन्। ऊर्जा प्रणाली, दिगो विकास, जलवायु परिवर्तन, सार्वजनिक नीति र ऊर्जा अर्थतन्त्रमा उनको विशेषज्ञता छ। अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान वातावरणमा अध्ययन–अनुसन्धानको अनुभवले उनलाई नीतिगत तहमा सुदृढ बनाएको मानिन्छ ।
२० वर्षभन्दा बढी समय उच्च शिक्षा र अनुसन्धान क्षेत्रमा सक्रिय रहेका उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा २०५७ देखि २०७८ सम्म प्राध्यापन गरे। एक वर्ष निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी पनि सम्हाले। ऊर्जा नीति, नवीकरणीय ऊर्जा र विकास योजनासम्बन्धी उनका अनुसन्धान र प्रकाशनहरु चर्चित छन् ।

सरकारी तथा नीति निर्माण अनुभव
पोखरेल २०६२ देखि २०७० सम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र का कार्यकारी निर्देशक (दुई कार्यकाल) रहे। ग्रामीण तथा दुर्गम क्षेत्रमा सौर्य, लघु जलविद्युत् र बायोग्यास विस्तारमा उनले नेतृत्व गरे ।
०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले राष्ट्रिय पुनर्निर्माण अभियानको नेतृत्व गरे। त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा राष्ट्रिय आर्थिक योजना, पूर्वाधार विकास र नीति समन्वयमा भूमिका निर्वाह गरेका थिए ।
अन्तर्राष्ट्रिय स्तरमा एसएनभी नेदरल्याण्ड्स डेभलपमेन्ट अर्गनाइजेसनलगायत संस्थासँग सहकार्य गर्दै दक्षिण एसियाली विकास परियोजनामा वरिष्ठ सल्लाहकारका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ।
राजनीतिक यात्रा
नेपाली कांग्रेस को १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पोखरेल ०२३ माघमा प्यूठानको रस्पुरकोटमा जन्मिएका हुन् । ०६८ सालमा नेपाल प्राध्यापक संघमा संगठित भई ०७४ देखि सक्रिय राजनीतिमा छन् ।
०७४ को निर्वाचनमा उनी एमाले–माओवादी समर्थनप्राप्त राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसँग पराजित भएका थिए । ०७९ मा गठबन्धन समीकरणका कारण उम्मेदवार बन्न पाएनन् ।
यस पटकको प्रतिस्पर्धा
२१ फागुनमा हुने निर्वाचनमा कांग्रेस देशभर एक्लै प्रतिस्पर्धा गरिरहेको सन्दर्भमा प्यूठानमा पोखरेल पुनः मैदानमा छन् । उनका प्रमुख प्रतिस्पर्धीमध्ये सूर्य थापा (नेकपा एमाले), कृष्णध्वज खड्का (नेपाल कम्युनिष्ट पार्टी), सुशान्त वैदिक (रास्वपा) र तिलकबहादुर जीसी (राष्ट्रिय जनमोर्चा) छन् ।
पोखरेल भने आफ्नो अभियानलाई ‘विकास र अर्थतन्त्रको यथार्थवादी खाका’ का रुपमा प्रस्तुत गरिरहेका छन् । ऊर्जा आत्मनिर्भरता, कृषि–उद्योगको आधुनिकीकरण, रोजगारी सृजना र स्थानीय पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै उनले प्यूठानलाई विकासको नयाँ चरणमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । प्यूठानका मतदाताले यसपटक अनुभवी नीतिनिर्माता रोज्छन् कि पुरानै राजनीतिक समीकरणलाई निरन्तरता दिन्छन् भन्ने चासो बढेको छ ।























