टुँडिखेलमा विशेष समारोहः ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाइँदै


काठमाडौँ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपाली नागरिकले नागरिक अधिकार र स्वतन्त्रता प्राप्त गरेको यस महत्वपूर्ण दिनलाई नेपालको राजनीतिक इतिहासमा नयाँ युगको सुरुवातका रुपमा लिइन्छ।

प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहुति दिने महान् शहीदहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायत ज्ञात–अज्ञात शहीदहरुको योगदानको स्मरण गर्दै आज देशभर श्रद्धाञ्जली अर्पण गरिँदै छ। इतिहासकारहरुका अनुसार २००७ सालको सोही क्रान्तिले नै वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग बसालेको हो।
दिवसको मुख्य कार्यक्रम आज काठमाडौँस्थित सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोहका साथ आयोजना गरिँदै छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठित मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति लगायत राज्यका उच्च पदाधिकारीहरूको उपस्थिति रहनेछ। समारोहमा नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाउन कवाज र विविध प्रदर्शनी समेत प्रस्तुत गर्नेछ।
























