रुपन्देही–५ः ‘हेभिवेट र युवा’ उम्मेदवारबीच प्रतिस्पर्धा


बुटवल । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएर चुनावी सरगर्मी बढाउँदै गएका छन् । देशभर चुनावी माहोल तातिदै जाँदा
रुपन्देहीको क्षेत्र न ५ मा पुराना ‘हेभिवेट र युवा’ उम्मेदवारबीचको प्रतिस्पर्धा यसपटक कडा टक्कर हुने भएको छ ।

संसदीय राजनीतिमा करिव तीन दशकदेखि सक्रिय रहँदै आएका नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेकपा एमालेबाट पूर्वराष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्व वनमन्त्रीसमेत रहेका मुहम्मद वकिल मुसलमान (तीन पुराना) र फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणका क्षेत्रमा अभियन्ताको रुपमा चिनिएका (नयाँ) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तौफिक अहमद खान र जनमत पार्टीबाट ओमप्रकाश यादव ‘गुल्जारी’ बिच कडा चुनावी प्रतिस्पर्धा हुने भएको हो । सो क्षेत्रमा २७ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
यसपटकको प्रतिस्पर्धालाई उम्मेदवारबीचको मात्रै नभएर पुराना नेतालाई राजनीतिक विरासत जोगाउने चिन्ता र नयाँ राजनीतिक विकल्पलाई स्थापितको कडा परीक्षाको रुपमा हेरिएको छ । उक्त क्षेत्रमा २०७९ सालको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयर भएका एमालेका वासुदेव घिमिरेसँग पराजित भएका शाहले यो निर्वाचन आफ्नो राजनीतिक यात्राको अन्तिम परीक्षाको सुनाउँदै मतदातासँग मत मागिरहेका छन् ।

२०५६ सालदेखि संसदीय यात्रा सुरु गरेका कांग्रेस नेता शाह निरन्तर त्यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् भने, उनी पूर्वसार्वजनिक लेखा समितिको सभापति र अर्थराज्यमन्त्रीसमेत भएका नेता हुन् । ०५६ को आम निर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचनमा पराजित भएका शाह २०७० सालको दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभामा विजयी भएका थिए ।
२०७५ सालमा संघीय सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित भएका शाह २०७८ सालमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग पराजित भएका थिए । यस्तै, शाहले २०४९ र २०५४ सालमा जिल्ला विकास समिति रुपन्देहीको सदस्य बनेर काम गरेको अनुभव छ ।
एमालेबाट उम्मेदवार बनेका खिमलाल भट्टराई विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका नेता मानिन्छन् । राष्ट्रियसभा छोडेर प्रतिनिधिसभाको दौडमा होमिएका भट्टराई आफ्नो जित निकाल्ने दाउमा एआईबाट निर्मित विकासे योजनासहित लागेको उनले पोस्ट्याएका सामाजिक सञ्जाल पोष्टले देखाउँदै आएको छ । एमालेका नेता रामनाथ ढकालको दिवंगत भएपछि २०७१ सालदेखि भट्टराईले सो क्षेत्रलाई आफ्नो आधार क्षेत्रको रुपमा मान्दै आएका छन् ।
बुटवल बहुमुखी क्याम्पसमा स्ववियु सभापति हुँदै २०६२ सालमा सम्पन्न अनेरास्ववियुको सत्रौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिएका भट्टराई एमालेको ११औँ महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी यसअघिको कार्यकालमा पोलिटब्यूरो सदस्यसमेत भएका थिए । २०७४ सालमा लुम्बिनी प्रदेशबाट ६ वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका उनी अहिले एक वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । राष्ट्रियसभामा एमालेका तर्फबाट दलको नेता र मुख्य सचेतकको जिम्मेवारी सम्हालिसकेका भट्टराईसोही क्षेत्रमा बलियो तयारीका साथ चुनावी मैदानमा छन् ।
नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तौफिक अहमद खान उम्मेदवार छन् । खानले वातावरण संरक्षण तथा विभिन्न सामाजिक सचेतनाका अभियानहरुमा युवापुस्तालाई प्रोत्साहन गर्दै आएकाले उनले आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका छन् । उनले सन् २०२३ मा यूएईमा सम्पन्न कोप २८ मा नेपालको प्रतिनिधित्व गर्दै समान जलवायु कार्यको पक्षमा वकालतसमेत गरेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका मुहम्मद वकिल मुसलमान संविधानसभा सदस्य र संघीय वनमन्त्री भइसकेका व्यक्ति छन् । मुसलमान २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट तत्कालीन रुपन्देही क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए । २०७९ साल भदौमा माओवादी केन्द्रमा प्रवेश गरेका मुसलमान यसपली जित निकाल्ने कसरतमा जुटेका छन् ।
जनमत पार्टीबाट उम्मेदवार बनेका ओमप्रकाश यादव तत्कालीन माओवादी जनयुद्धका बेला तराईमा प्रतिकार समूह गठन गरी राजनीतिमा उदाएका नेता हुन् । २०६४ सालमा संविधानसभाको पहिलो निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (तत्कालीन क्षेत्र नम्बर २) बाट उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका गुल्जारी कृषि तथा सहकारी राज्यमन्त्री बनिसकेका छन् ।
२०७० सालमा सद्भावना पार्टीमा प्रवेश गरेर संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवार बनेका यादव त्यतिबेला भने पराजित भएका थिए । त्यसपछि उनी २०७४ सालमा एमालेमा प्रवेश गरेर रुपन्देही क्षेत्र न ४ बाट उम्मेदवार बने । त्यहाँ पनि पराजित भएपछि एमाले परित्याग गरेका यादव २०७९ सालमा पुरानै दल, जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेर सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।























