मत माग्दै विश्वदीपले मतदातालाई लेखे पत्र

बुटवल, फागुन ९ गते । नेपाली कम्युनिष्ट पार्टी रुपन्देही क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतलातालाई पत्र लेख्दै मत मागेका छन् । मतदाताको भावनासंग जोडिएर उनले यो क्षेत्रको ऋण तिर्न आफु उठेको बताउंदै अमुल्य मत मलाई दिनुहोला भन्दै मतदाताको घरघरमा पत्र पठाएका छन् ।

उनले पत्रमा लेखेका छन् म यहींको माटोको धुलोमा खेलेर हुर्किएको, यहींको सुख दुख भोगेर हुर्केको एउटा छोरा भएको भन्दै उनले पाहुँना उम्मेदवार जस्तो कतै भागेर जादैन भन्दै मत मागेका छन् ।

मतदाताका नाममा भावनात्मक पत्र लेख्दै उम्मेदवार पाण्डेले भनेका छन – ‘म यहींको सुख दुःख भोगेको तपाईंकै घरको एउटा छोरो हुँ । मलाई विपक्षी साथीहरुले सोध्नुहुन्छ – ‘हिजो बावुराम भट्टराई र भक्ति पाण्डेले हारेको ठाँउमा किन आयौं ?’ म उहाँहरुलाई भन्न चाहन्छु – ‘हार र जीत त एउटा पाटो हो, तर यो मेरो जन्मभूमि हो, मेरो कर्म भूमि हो ।’

उनलेआफ्ना बुवा स्व. भक्ति पाण्डेले यस क्षेत्रको विकासका लागि देखेको सपना पुरा गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गरेका छन । ‘ती सपनाहरु आज पनि यहीं माटोमा जीवित छन । ती अधुरा सपनाहरु पुरा गर्ने जिम्मेवारी मेरो काँधमा छ । म यहाँ चुनाव जित्न मात्र होईन, यो माटोको ऋण तिर्न आएको हुँ ।’ उनले भनेका छन ।

तारा चुनाव चिन्ह लिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका विश्वदीपले बुटवल धागो कारखाना जस्ता उद्योग बन्द हुनु र दाजुभाईहरु दैनिक खाडी मूलुकमा पसिना बगाउन जानु पर्ने बाध्यता नेताहरुले नै सिर्जना गरेको उनले मतदातालाई पठाएको पत्रमा उल्लेख छ ।
उनले भनेका छन – ‘नेताहरुले कुर्सी त पाए, तर यो माटोको माया पाएनन् । म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु – म यहींको छोरो हुँ ।

म कतै भागेर जाने छैन । बुटवलको विकास,उद्योगको पुनरुत्थान,र युवाहरुलाई रोजगारी मेरो पहिलो र अन्तिम संकल्प हो ।’ उनले यस क्षेत्रलाई विकासको नमुना बनाउन सबैको साथ सहयोग जरुरी रहेको पनि मतदाताको नाममा लेखिएको पत्रमा उल्लेख गरेका छन ।

उनले हरेक घरको हरेक मतदाताई अमुल्य मत खेर फालेर हतारमा आत्तियर फुर्सदमा पछुतो हुन काम नर्गनसमेत मतदातालाई आग्रह गरेका छन् ।