मोदीको अभिव्यक्तिप्रति राजमोको ध्यानाकर्षण

सडक विस्तारको कार्य रोक्न माग

 

 

बुटवल/राष्ट्रिय जनमोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै ध्यानाकर्षण भएको जनाएको छ।
राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै मोदीले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको प्रसंगको चर्चा गर्दै ध्याकर्षण भएको बताएका हुन्।
सो कार्यक्रममा मोदीले मानसरोवरसम्म जाने सडक पुर्‍याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए।
राजमोले विज्ञप्तिमा भनेको छ( गत साल भारतले नेपालको कालापानी क्षेत्र अन्तर्गत लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्नुका साथै भारतका रक्षामन्त्रीले भर्चुअल माध्यमबाट त्यसको उद्घाटन पनि गरेको थिए। भारतको उक्त हेपाहा कार्यको विरुद्ध देशब्यापी रुपमा जनता सडकमा उत्रेका थिए।
राष्ट्रिय जनमोर्चाले भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरी नेपालको अनुमतिविना गरिएको निर्माण कार्यको घोर विरोध तथा भर्त्सना गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, त्यसका बाबजुद पनि भारतीय साम्राज्यवादले सडक विस्तारको काम जारी नै राखेको थियो। तात्कालीन अवस्थामा नेपाल सरकारबाट पनि उक्त कार्यको विरोध गर्दै भारतलाई कुटनीतिक नोट पठाएको थियो।
भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा त्यसको घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न राजमोले माग गरेको छ।