रुपन्देही–३ः डाक्टर, पाइलट र निवर्तमान सांसद घिमिरेबिच रोचक प्रतिष्पर्धा


बुटवल । हरेकजसो निर्वाचनमा ‘हेभिवेट’ नेताका कारण चर्चामा रहने क्षेत्र हो रुपन्देही-३ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । यसअघि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता स्व।दीपक बोहोराको चुनावी क्षेत्रमा यसपाली नयाँ उम्मेदवारको रस्साकस्सीले रुपन्देही-३ को चुनावी मैदान तातिएको छ ।

क्षेत्र न-३ मा अहिले कांग्रेसबाट विद्यार्थी राजनीतिबाट उदाएका युवानेता सुशील गुरुङ, स्वास्थ्य क्षेत्रमा चिरपरिचित न्यूरो सर्जन डा.लेखजंग थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पाइलट गौरव बोहोरा, नेकपा एमालेबाट निवर्तमान सांसद तथा तिलोत्तमा नगरका पूर्वमेयर वासुदेव घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट फैज अहमद खाँ चुनावी मैदानमा छन् । डाक्टर, पाइलट, विद्यार्थी नेता र राजनीतिक विरासत बोकेका उम्मेदवारहरुबीच हुन लागेको प्रतिस्पर्धाका कारण यहाँको चुनाव थप रोचक हुने अनुमान गरिएको छ ।
यी सबै यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । यहाँ राजनीतिक दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्यतः कांग्रेसका विद्यार्थी नेता गुरुङ, रास्वपाका डा. थापा, राप्रपाका बोहरा र एमालेका घिमिरेबीच चारपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उनीहरुका फरक दृष्टिकोण र रणनीतिले पनि निर्वाचनलाई थप रोचक बनाउने भएको छ । फेरिदो जनमतले कतै नजिता उल्टिने होइन भन्ने आशंकाले कांग्रेस र एमाले चुनावी गणित बुझेर अभियानमा लागेका छन् । कांग्रेसबाट उम्मेदवार बनेका युवानेता गुरुङ पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

विद्यार्थी राजनीतिदेखि लिएर सामाजिक सेवा र पार्टी नेतृत्वसम्म निरन्तर योगदान दिएका उनी कांग्रेस क्षेत्रीय सभापति पनि हुन् । गुरुङ भन्छन्, जनताको आवाज सुन्ने र समस्या समाधान गर्ने अभियान सहित मैदानमा उत्रिएको छु, गत निर्वाचनमा पनि समानुपातिकतर्फ कांग्रेस यस क्षेत्रको ठूलो पार्टी रहेका कारण आफ्नो पक्षमा मत आउने उनको विश्वास छ । अघिल्लो निर्वाचनमा कांग्रेसले समानुपातिकमा २० हजार २७८ मत ल्याएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका गौरव बोहोरा ३० वर्षदेखि हवाई उडानमा संलग्न पाइलट तथा स्व।दीपक बोहोराका छोरा हुन् । पञ्चायतकालदेखि यस क्षेत्रमा भिजेका बोहोराको पारिवारिक ‘लिगेसी’ गौरवमा देखिन्छ । उड्ड्यन क्षेत्रको ज्ञान बटुलेका उनली लामो समय हवाई यात्रुको सुरक्षाको अनुभव संगालका व्यक्ति हुन् । गौरव भन्छन्, अहिले आफ्नै बुवाको निर्वाचन क्षेत्रमा चुनाव लड्न आएको छु, बुवाबाट सिकेको राजनीतिले मलाई पनि सहयोग गर्ने विश्वास लिएको छु । गौरवले राजनीतिक विरासत र युवा प्रतिनिधित्वलाई चुनावी बलको रुपमा प्रयोग गर्ने योजना बनाएका छन् ।
जिल्लाको अन्य क्षेत्रको तुलनामा राप्रपाको राम्रो पकेट क्षेत्रको रुपमा चिनिन्छ । तर, उनी फरक क्षेत्रबाट पहिलोपटक चुनावी मैदानमा आएको हुँदा अनुभवी प्रतिस्पर्धी र बदलिँदो मतदाताको अपेक्षाले चुनौती दिने देखिन्छ । राप्रपाप्रति सहानुभूति समर्थन रहेका कारण राप्रपा एक्लै पनि यस क्षेत्रमा बलियो रहेको आँकलन यहाँका मतदाता तथा केही कार्यकर्तासँग बुझ्दा पाइन्छ । अघिल्लो निर्वाचनमा राप्रपाले समानुपातिकमा ९ हजार १ सय ८३ मत पाएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा।थापा वरिष्ठ न्यूरो चिकित्सक तथा समाजसेवीका रुपमा परिचित छन् । यसअघि यसै क्षेत्रमा तोकिएको उपनिर्वाचनमा रास्वपाबाट थापालाई नै उम्मेदवार घोषणा गरिएको थियो । थापा पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल परिवर्तन जरुरी रहेकाले आफू राजनीतिमा होमिएको डा।थापाको भनाई छ । उनले स्वास्थ्य, शिक्षा र रोजगारीका एजेन्डालाई अघि सारेका छन् ।
नेपालमा न्यूरो सर्जन चिकित्सकमा उनी नाम चलेका डाक्टर मानिन्छन् । स्वास्थ्य क्षेत्रबाट राजनीतिमा छिरेका डा।थापालाई राजनीतिक यात्राको यो चुनाव सहज र चुनौति दुबै छन् । अघिल्लो चुनावमा रास्वपाबाट उम्मेदवार बनेका जितबहादुर गुप्ता (जेबी) ले स्वतन्त्र उम्मेदवारी दिएपछि मत तलमाथि हुन सक्ने आशंका देखिएको छ । २०७९ सालको निर्वाचनमा रास्वपाले समानुपातिकमा १४ हजार १ सय ५४ मत पाएको थियो ।
२०७९ सालमा रुपन्देही-५ बाट चुनाव जितेका एमालेका उम्मेदवार घिमिरे यसपाली आफ्नै गृहनगरसमेत रहेको रुपन्देही-३ मा झरेका छन् । उनी स्थानीय तहको अनुभव लिएर संघीय तहमा गएका नेता हुन् । घिमिरेले तिलोत्तमा नगरपालिकाको मेयर हुँदा गरेका केही कामले विकासप्रेमी नेताको छवि बनाएपनि ०७९ मा रुपन्देही-५ बाट निर्वाचन जितेर सो क्षेत्रका लागि केही नगरेको र पछिल्लो समय पार्टी छोडेको सार्वजनिक गरेका उनी ४८ घण्टा नबित्दै पुनः एमाले पार्टीमा फर्किएकाले अवसरका लागि चरित्र फेरबदल गर्ने राजनीतिज्ञको रुपमा चिनिन्छन । २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा समानुपातिकतर्फ एमालेले १६ हजार ९ सय ८६ मत प्राप्त गरेको थियो ।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका फैज अहमद खाँ पनि बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन् । जातीय मत तान्न सक्ने आँकलन उनको सबैभन्दा बलियो आधार हो । जनता समाजवादी पार्टी (जसपा) का श्रीनिवास यादव पछिल्लोसमय एमालेमा प्रवेश गरेका छन् । जनमत पार्टीले भैरहवाका युवा विशाल गुप्तालाई उम्मेदवार बनाएको छ । उनी जेन–जी समूहका युवामाझ लोकप्रिय मानिन्छन् ।
अघिल्लो निर्वाचनमा यस क्षेत्रमा समानुपातिकतर्फ नेकपा एकीकृत समाजवादीले ७८१, माओवादी केन्द्रले २ हजार ६ सय, नागरिक उन्मुक्ति पार्टीले ६ हजार, जसपा र लोसपाले ५/५ हजार, जनमत पार्टीले ३ हजार ७ सय र जनमुक्ति पार्टीले १ हजार ९ सय मत पाएका थिए । २०७९ सालको निर्वाचनमा खाँण र बोहोराबीच भएको प्रतिस्पर्धामा बोहोराले बहालवाला गृहमन्त्री खाँणलाई पराजित गरेका थिए । एमालेसँगको तालमेलबाट बोहोरा ३६ हजार ७ सय १७ मत पाएर विजयी हुँदा खाँणले ३४ हजार ३६ मत ल्याएका थिए ।
भुटानी शरणार्थी काण्डमा मुछिएपछि खाँण यसपाली चुनावी प्रतिस्पर्धाभन्दा बाहिर छन् भने बोहोराको गत चैतमा निधन भएको हो । खाँण र बोहोराको गृहनगरसमेत रहेको यस क्षेत्रमा यसपाली कसले बाजी मार्ला भन्ने धेरैको चासो र चर्चाको विषय बनेको छ । जेन–जी आन्दोलनपछि मुलुकमा बदलिँदो परिस्थितिको कारण मतदाताहरु पनि अन्योलमा रहेका छन् ।
स्थलगत रिर्पोटिङका क्रममा मतदाताहरुसँग कुराकानी गर्दा वर्षौंदेखि आबद्ध रहेको पार्टीका उम्मेदवारलाई मत दिने कि उठिरहेको परिवर्तनको आवाजलाई मजबुत बनाउने भन्ने विषयमा मतदाताहरु सोँचाईको अलमलमा परेको देखिएको छ । सो क्षेत्रमा विगतका निर्वाचनलाई हेर्दा केही दलहरुमा तालमेल गरेर चुनाव लड्दै आएको देखिन्छ । यसपाली सबै दलहरु एक्लाएक्लै भएर चुनावी मैदानमा छन् ।
रुपन्देही-३ मा १ लाख ५० हजार मतदाता छन् । यो क्षेत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका, सियारी, शुद्धोधनलाई समेटिएको छ । बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्दछन् ।
विगतको चुनावी ग्राफ
२०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका धनपति उपाध्यायले चुनाव जितेका थिए । उपाध्यायको निधनपछि उपचुनाव हुँदा २०५२ सालमा एमालेकै घनश्याम भुसाल विजयी भएका थिए । २०५६ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेका थिए । २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि अहिले क्षेत्र-३ मा पर्ने तत्कालीन क्षेत्र-२ बाट बोहोरा र क्षेत्र-३ बाट खाँण विजयी भए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा खाँणले तत्कालीन एमाले उपमहासचिव घनश्याम भुसाललाई झिनो मतले पराजित गरेका थिए । २०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहोरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले राप्रपाका बोहोरालाई पराजित गरी जित निकाले । त्यतिबेला एमाले र माओवादी केन्द्र सहकार्य गरेर चुनाव लडेका थिए भने कांग्रेस र राप्रपाबीच चुनावी तालेमल थियो ।























