दाङ क्षेत्र–१ः मुख्य राजनीतिक दलहरुलाई छैन् सहजता


बुटवल । तीनवटा निर्वाचन क्षेत्र भएको लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्ला हो । यतिबेला चुनावले राजनीतिक पार्टीहरुलाई प्रचारप्रसार गर्न गाउँघर धाउन भ्याइनभ्याइ छ । राजनीतिक पार्टीका नेता कार्यकर्ता र उम्मेदवारहरु घरदैलोमा पुगेर मतदातासँग मतको अनुनय गरिरहेका छन् ।

पुराना नेता उम्मेदवारहरुले मतदातासँग आगामी दिनमा आफूले गर्ने कामको प्रतिबद्धता र यसअघि आफुले गर्न नसकेका कामहरु जितेपछि पूरा गर्ने वाचा गरिरहेका छन् । भने नयाँले पुरानाले नगरेका जनताका आधारभूत समस्या, आवश्यक्ता लगायत बिषयमा नीतिगत र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
तीनवटै क्षेत्रमा मुख्य राजनीतिक पार्टीहरुलाई सहजता छैन । यसक्षेत्रमा पछिल्लो दुईवटा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले जित्दै आएका छन् । ०७४ मा तत्कालीन माओवादीसहितको गठबन्धनबाट उनले कांग्रेसकी सुशीला चौधरीलाई पराजित गरेका थिए । त्यतिवेला उनी एमलेमा थिए । ०७९ मा एमाले फुटेर एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनले कांग्रेस र माओवादी गठबन्धनमा जित हात पारेका थिए । जतिबेला उनी मन्त्रीसमेत थिए ।

यसपटक उनी ह्याट्रिक जितको दाउमा छन् । तर, उनलाई सजिलो भने छैन्, एउटै पार्टीमा रहेका लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवार दिएर उम्मेदवार दिएपछि चौधरी तनावमा छन् । देउखुरीमा लुम्बिनीको स्थायी राजधानीका प्रशासनिक संरचना ल्याउन केसीले महत्वपूर्ण भूमिका खेलेका थिए । पूर्वमाओवादी नेतासमेत भएकाले तत्कालीन पार्टीका केही मत काट्ने अनुमान गरिएको छ । आफूले टिकट नपाएपछि उनी बागी उम्मेदवार भनेर आँप चुनाव चिह्नमा चुनाव लडिरहेका छन् ।
राजधानी सारेका आधारमा उनी दाङ–१ बाट नेकपाको तर्फबाट टिकटका आकांक्षी भएपनि नेकपाभित्र एकताको समीकरण मिलाउनुपर्ने र स्थानीय नेता चौधरी भएकाले नेकपाले टिकट चौधरीलाई दिएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ०७९ को चुनावमा चौथो बनेको नागरिक उन्मुक्ति पार्टीले नेकपासँग एकता गरेको छ । अघिल्लो चुनावमा नाउपाले प्रत्यक्षमा ८ हजार १९ मत पाएको थियो । यो पटक नाउपाले उम्मेदवार उठाएको छैन । नाउपाको मत नेकपालाई जानेछ ।
यो क्षेत्रमा कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, एमालेबाट रेवतीरमण शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठकसहित १४ उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसका चौधरी ०७० मा तत्कालीन मधेशी जनअधिकार फोरमबाट समानुपातिक सांसद थिए । एमालेका शर्मा ०७४ मा प्रदेश सभा सदस्य थिए । रास्वपाका पाठक ०७९ को निर्वाचनमा पनि उम्मेदवार थिए । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ दाङ १ बाट एमालेले १७ हजार ९ सय ६९, कांग्रेसले १५ हजार ६७, नेकपा १४ हजार ६ सय ७० ९तत्कालीन माओवादी र एकीकृत समाजवादी०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ४ सय १० र नागरिक उन्मुक्ति पार्टीले सात हजार १ सय ७९ मत ल्याएका थिए ।
विगतलाई हेर्ने हो भने दाङ कांग्रेसको गढ मानिन्छ । दिवंगत खुमबहादुर खड्काको गृहजिल्लासमेत रहेको दाङलाई खड्काले कांग्रेसको संगठनलाई मजबुत बनाएका थिए । पुरानो पुस्ताले खुमबहादुरलाई अझै पनि सम्झिन्छन् । तर, दाङमा पछिल्लोसमय त्यो साख कांग्रेसले जोगाउन सकेको छैन् । आफ्नो गढ जोगाउन नसक्दा कहिले एमाले त, कहिले पूर्वमाओवादीले दाङ जिल्लामा आफ्नो वर्चस्व देखाउँदै आएको छ । ०४८, ०५१, ०५६ र ०७० मा दाङमा कांग्रेसले एकलौटी जित हात पारेको थियो ।
अहिले कांग्रेसबाट योगेन्द्र चौधरी उम्मेदवार बनेका छन् । चौधरी बाहुल्यता भएको क्षेत्र न १ मा सहमहामन्त्रीसमेत रहेका व्यक्तिलाई उम्मेदवार बनाएकाले कांग्रेसको साख जोगाउनुपर्ने चौधरीलाई सुनौलो अवसरसहित नैतिक जिम्मेवारीको अग्नि परीक्षाको रुपमा लिइएको छ ।
अघिल्लोपटक गठबन्धनका कारण कांग्रेसको उम्मेदवार थिएन । यो पटक कांग्रेसले आफ्ना मतदातालाई आफ्नै चुनाव चिह्नमा मतदान गराउने भएको छ । गत चुनावमा गठबन्धनका कारण केही मतदाता कांग्रेससँग चिढिएका थिए । ती मतदातालाई फकाएर रुखमा मतदान गराउनुपर्ने चुनौती कांग्रेसलाई छ । यसअघिको चुनावमा प्रत्यक्षमा उम्मेदवार रहेकी शान्ता चौधरी अहिले समानुपातिक उम्मेदवार छन् । पूर्व लुम्बिनी प्रदेश सांसद रेवतीरमण शर्मा प्रत्यक्षमा उम्मेदवार बनेका छन् । जेन–जी आन्दोलनपछि रक्षात्मक बनेको एमालेले यो पटक रणनीतिक रुपमा उम्मेदवारको चयन गरेको छ । शान्तालाई समानुपातिकमा राखेर शर्मालाई प्रत्यक्षमा उम्मेदवार बनाएर दुवै समुदायको मत तान्ने रणनीति एमालेले लिएको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघिल्लोपटकको मत बढाएर जितका लागि संघर्ष गर्नुपर्नेछ । रास्वपाका देवराज पाठक अघिल्लोपटक यो क्षेत्रमा १३ हजार ७ सय ९८ मत पाएर तेस्रो भएका थिए । अघिल्लो चुनावमा रास्वपाको प्रत्यक्षको मत जित्ने उम्मेदवार भन्दा आधा मात्र मत छ । उसले या पटक जितका लागि धेरै मेहनत गर्नुपर्नेछ । राजनीतिक रुपमा उसको लोकप्रियाता बढेको देखिए पनि रास्वपालाई परिवर्तनकारी मतदाताको मत पाउने आश गरेको छ । यो क्षेत्रमा कुल मतदाता संख्या एक लाख ४० हजार एक छ भने, जसअन्र्तगत पुरुषतर्फ ७० हजार पाँच सय ५४, महिलातर्फ ६९ हजार चार सय ४६ अन्य एक रहका छन् । ५४ मतदान स्थल र एक सय ५८ मतदानस्थल रहेका छन् ।























