अब अवस्था फेर्छौँः नेपाली कम्युनिष्ट पार्टी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी, २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो औपचारिक अपील (घोषणापत्र) सार्वजनिक गरेको छ । नेकपाले पार्टी कार्यालय पेरिस डाँडामा बिहीबार औपचारिक अपील सार्वजनिक गरेको हो । अपीलमा मुलुकको विद्यमान राजनीतिक प्रणालीलाई सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने संकल्प गरिएको छ ।

अपील सार्वजनिक गर्दै पार्टीका नेता डा.वेदुराम भुसालले राष्ट्रियता र संघीयताको रक्षा अपीलमा बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको बताए । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउँदै पार्टीले संघीयता, समानुपातिक र समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको बताए। भ्रष्टाचार नियन्त्रण र सम्पती छानबिन पार्टीले सुशासनका लागि ‘शून्य सहनशीलता’को नीति अघि सारेको छ ।

अपीलको एक मुख्य बुँदामा ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पती छानबिन गर्ने र अवैध रूपमा आर्जन गरिएको सम्पत्ति राष्ट्रियकरण गर्ने नीति लिइने उल्लेख छ । आर्थिक आत्मनिर्भरता र निर्वाचन प्रणालीमा सुधार वर्तमान महंगो निर्वाचन प्रणालीले अस्थिरता निम्त्याएको ठहर गर्दै पार्टीले यसलाई सरल र कम खर्चिलो बनाउन परिवर्तन गर्ने प्रस्ताव गरेको छ । आर्थिक क्षेत्रमा कृषि, उद्योग, ऊर्जा र पर्यटनलाई मेरुदण्ड मान्दै व्यापार घाटा कम गर्ने र खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना अपिलमा समावेश छ ।

सामाजिक न्याय र विभेदको अन्त्य जातीय छुवाछुत, छाउपडी, दाइजो र बोक्सी जस्ता कुऋति तथा अन्धविश्वासलाई पूर्ण रूपमा अन्त्य गर्ने र विभेदकारी व्यवहार गर्नेहरूमाथि कडा कानूनी कारबाही गर्ने प्रतिवद्धता पार्टीले व्यक्त गरेको छ । परराष्ट्र नीति र सीमा रक्षा नेपालको हितलाई केन्द्रमा राखेर पञ्चशीलको सिद्धान्तका आधारमा परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने र असमान सन्धि–सम्झौताहरू खारेज गर्दै अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने विषय राखिएको नेता भुसालले बताए।

‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्नेछौँ’ भन्ने मुख्य नाराका साथ सार्वजनिक गरिएको यो अपीलले मतदातालाई नयाँ आशा र भरोसा दिलाउन खोजेको देखिन्छ । विगतका कमी–कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता गरिएको छ ।