मध्यपूर्वमा युद्धको प्रभावः त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडौँ । पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावको प्रत्यक्ष असर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ। इजरायल र इरानबीच सुरु भएको आक्रमण–प्रत्याक्रमणका कारण केही देशले आफ्नो हवाई मार्ग बन्द गरेपछि कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरब लगायतका गन्तव्यका उडानहरु प्रभावित भएका छन्।

उडान रद्द भएपछि शनिबारदेखि नै सयौँ यात्रु विमानस्थलमा अलपत्र परेका छन्। आइतबार बिहानसम्म पनि उडान नियमित हुनेबारे स्पष्ट सूचना नपाउँदा यात्रुहरू अन्योलमा देखिएका छन्। एयरलाइन्स कम्पनीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरेकाले धेरै यात्रु आफ्नै खर्चमा होटल फर्किन बाध्य छन् भने कतिपय टिकट पुनः निर्धारण को पर्खाइमा विमानस्थलमै बसिरहेका छन्।

सिराहाका परमेश्वर शाहले आफ्नो पीडा सुनाउँदै भने, हिजो कतार जानुपर्ने थियो, उडान स्थगित भयो। अब यहाँ बस्ने पैसा छैन, घर फर्किन पनि समस्या छ। सरकारले हामीलाई सहयोग गर्नुपर्छ।

सरकारी तथ्याङ्कअनुसार प्रमुख खाडी मुलुकहरुमा करिब १७ लाख नेपाली कार्यरत छन्। यसमा युएईमा ६ लाख, कतारमा ५ लाख, साउदी अरबमा ४ लाख ५० हजार र कुवेतमा १ लाख २० हजारभन्दा बढी नेपाली छन्। इजरायलमा पनि करिब ५ हजार नेपाली कार्यरत छन्। त्रिभुवन विमानस्थलबाट दैनिक करिब १,५०० युवा रोजगारीका लागि तिनै मुलुकतर्फ प्रस्थान गर्ने गर्छन्। उडान प्रभावित हुँदा हजारौँ परिवारको आयस्रोतमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

तनाव बढेपछि परराष्ट्र मन्त्रालयले इजरायल, इरान तथा पश्चिम एसियाका अन्य देशमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न, अनावश्यक रुपमा बाहिर ननिस्कन र घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको छ। साथै, तत्कालका लागि ती देशको भ्रमण योजना स्थगित गर्न समेत सिफारिस गरिएको छ।

आबुधाबी र दोहास्थित नेपाली दूतावासहरूले पनि छुट्टाछुट्टै सूचना जारी गर्दै नेपाली नागरिकलाई सतर्क रहन र कूटनीतिक नियोगको सम्पर्कमा रहन आग्रह गरेका छन्। हवाई मार्ग कहिले पूर्ण रूपमा खुल्छ भन्ने निश्चित नभएसम्म विमानस्थलको अन्योल कायमै रहने देखिन्छ।