रुपन्देही–२ः राप्रपामा विवाद, पार्टी संगठनविपरीत क्षेत्रीय सभापति थापा गएको जिकिर

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विवाद चुलिएको छ । आइतवार क्षेत्रिय अध्यक्ष राम बहादुर थापा पार्टीको नीति विपरीत कांग्रेसलाई समर्थन गरेको भन्ने कुरा निराधार रहेको बताइएको छ । रुपन्देही जिल्ला कार्यसमितिले क्षेत्र न २ मा प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा पार्टीको आधिकारिक समर्थन कसैलाई पनि नरहेको एक प्रेस विज्ञप्ति जारी गरेको जानकारी गराएको ।

पार्टीकी क्षेत्रीय कोषाध्यक्ष भगवती पाण्डेद्धारा जारी बिज्ञप्तीमा क्षेत्रीय तहबाट गरिएको समर्थनको निर्णय पार्टीको संगठनात्मक नीति विपरीत भएको उल्लेख गरिएको छ । यही फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला राप्रपाको तर्फबाट नेपाली कांग्रेस, रुपन्देही क्षेत्र न २ का उम्मेदवारलाई समर्थन गरिएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार राप्रपाको तर्फबाट उक्त उम्मेदवारलाई समर्थन गरिएको भन्ने विषयमा जिल्ला कार्यसमितिलाई कुनै औपचारिक जानकारी गराइएको थिएन । पार्टीका अनुसार क्षेत्रीय सभापतिले जिल्ला कार्यसमिति र पार्टीका अन्य जिम्मेवार निकायलाई जानकारी नदिई एकल निर्णयका आधारमा हस्ताक्षर गरी समर्थन जनाएको विषय सार्वजनिक भएको हो ।

जिल्ला कार्यसमितिले यस्तो निर्णय पार्टीको संगठनात्मक संरचना, नीति तथा अनुशासन विपरीत रहेको ठहर गर्दै त्यसलाई अस्वीकार गरेको जनाएको छ । पार्टीले अहिलेसम्म आधिकारिक रूपमा कसैलाई पनि समर्थन नगरेको अवस्थामा क्षेत्रीय तहबाट गरिएको समर्थन पार्टीको आधिकारिक धारणा हुन सक्दैन, विज्ञप्तिमा उल्लेख छ ।

राप्रपा रुपन्देहीले निर्वाचनजस्तो संवेदनशील समयमा मतदातालाई प्रभावित पार्ने गरी गरिएका एकल निर्णयप्रति खेद प्रकट गरेको छ । पार्टीले मतदातालाई भ्रममा नपर्न र आधिकारिक निर्णय नआएसम्म सार्वजनिक भएका प्रचार–प्रसारका सामग्रीप्रति सचेत रहन आग्रह गरेको छ ।

जिल्ला कार्यसमितिका अध्यक्ष राणाले हस्ताक्षर गरेको विज्ञप्तिमा संगठनभित्रको आन्तरिक समन्वय र निर्णय प्रक्रियालाई बेवास्ता गरी गरिएको कुनै पनि कदम पार्टीको नीतिअनुसार मान्य नहुने स्पष्ट पारिएको छ । साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक आन्तरिक समीक्षा र छलफल गरिने संकेत पनि गरिएको छ ।

रुपन्देही–२ मा विभिन्न दल र उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा राप्रपाभित्र देखिएको यो असन्तोषले स्थानीय राजनीतिक समीकरणमा नयाँ बहस जन्माएको छ । जिल्ला कार्यसमितिको स्पष्टीकरणपछि अब क्षेत्रीय तहले गरेको भनिएको समर्थनबारे थप स्पष्टीकरण आउने अपेक्षा गरिएको छ ।