एक करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र


काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार छ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार नौ सय ६७ मतदान स्थल र २३ हजार एक सय १२ ओटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रवन्ध मिलाइएको जानकारी दिए। उनका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।
उनले भने, एक मतदातालाई मतदान गर्न एकदेखि दुई मिनेट मात्र लाग्नेछ । कुनै पनि मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता छैनन्, त्यसैले लाइनमा धेरै कुर्नुपर्दैन । प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरुलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गरे । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उनको दाबी छ ।
























