अन्तर्राष्ट्रिय सीमा नाका बन्द


काठमाडौँ । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द भएका छन् । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा सीमा नाका बन्द गरिएको हो । निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । सोहीअनुसार नै आइतबार राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको हो ।
उनले भने, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले निर्वाचन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आइतबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नका लागि निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरे बमोजिम सीमा नाका बन्द रहनेछन् । सोही बमोजिमको व्यवस्था गर्नरगराउनका लागि सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गर्दछ ।

आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ। निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरु अवलम्वन गरिरहेको जनाएको छ ।























