तराईका जिल्लामा आज होली

काठमाडौँ । तराईका जिल्लाहरुमा आज रङहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली र पहाडी भेगमा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने परम्पराअनुसार नवलपरासी, झापा, मोरङ, सुनसरी, धनुषा, रुपन्देही, कैलाली र कञ्चनपुरसहितका तराई तथा भित्री मधेसका जिल्लाहरु आज रङमय बनेका छन्। सबै प्रकारका भेदभाव त्यागेर एक(अर्कालाई रङ लगाउँदै आपसी भ्रातृत्व र सद्भाव साटासाट गर्ने यो पर्वलाई उल्लास र उमङ्गको प्रतीक मानिन्छ।

धार्मिक र सांस्कृतिक रुपमा विशेष महत्त्व बोकेको होलीलाई समानता र सद्भावको प्रेरणा स्रोतका रुपमा लिने गरिन्छ। पण्डित त्रिलोचन भुर्तेलका अनुसार असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रुपमा यो पर्वले अनेकतामा एकता कायम गर्दै आएको छ। प्राचीनकालमा वसन्तोत्सवका रुपमा सुरु भएको यो पर्व फागु, फगुवा वा होरीका नामले चिनिन्छ। यस अवसरमा ढोल, डम्फु र मृदङ्ग बजाउँदै नाचगान गर्ने र मनमुटाव त्यागेर खुसी साट्ने मौलिक परम्परा रहिआएको छ।

होलीको अवसरमा तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) सहितका जिल्लाहरुमा पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले अनुमतिबिना रङ दल्ने, लोला हान्ने, होहल्ला गर्ने वा अभद्र व्यवहार गर्नेहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

प्रहरीले सर्वसाधारणलाई अपरिचित व्यक्तिसँग होली नखेल्न, इच्छाविपरीत रङ नलगाउन र आँखा वा छालामा असर गर्ने रासायनिक रङको प्रयोग नगर्न आग्रह गरेको छ। साथै, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न समेत अनुरोध गरिएको छ। कुनै पनि उच्छृङ्खल वा आपराधिक गतिविधि भएको पाइएमा तुरुन्त प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।