पेट्रोलियम पदार्थको अभाव हुँदैनः व्यवसायी


काठमाडौँ । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन् ।

‘सयम सयममा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ, विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ’, घिमिरले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।
अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति श्रृंखलामा पनि समस्या पैदा गर्ने भएपनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ । केही दिन अघिमात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ ।

‘अन्य इन्धनको तुलनामा ग्यास आपूर्ति श्रृंखला भने फरक किसिमको छ । हाम्रोमा ग्यासको बुलेट भारतको मात्रै प्रयोग हुने गर्दछ भने यसको ढुवानीकर्ता भारत मात्रै हो,’ उनले भने, ‘यही कारण बुलेटको अभाव हुनु र भारतीय आयातकर्ताले पनि सुरक्षित र बढी नाफा खोज्दै भारतमा नै बढी ढुवानी गरिदिने गर्छन् । यसले नेपालमा समस्या पैदा गरेको छ ।
यही कारण बेलाबेला ग्यासको सवालमा समस्या आउने भए पनि हाल भने बुलेट अभावको समस्या समाधान भइसकेकाले ग्यासको अभाव नहुने उनको भनाइ छ । ग्यासका सवालमा अन्य समस्या समाधान भएको र जाडोका कारण बढी हुने खपतको मात्रा पनि घटेर जाने भएकाले अभावको त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए ।
अहिले पश्चिम एसियामा भएको युद्धका कारण इन्धन अभावको त्रासले सामान्य समयमा भन्दा बढी खपत भइरहेको उनले उल्लेख गरे । यसले गर्दा ग्यास अभावको समस्या केही मात्रामा देखिएको भएपनि यो समस्या समाधानतर्फ गइसकेको उनले बताए । अर्कोतर्फ, द्वन्द्वका कारण उडान रद्ध हुँदा हवाई इन्धनको खपत घटेको र नेपालको सन्दर्भमा भण्डारण पनि पर्याप्त भएकाले त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरिले बताए ।























