निर्वाचनमा खटिने कर्मचारीले दलको प्रचार गरे कारबाही हुने


काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीहरुले आफ्नो सेवा समूहसम्बन्धी कानुनमा उल्लेखित आचरणका अतिरिक्त’निर्वाचन आचारसंहिता, २०८’का व्यवस्थाहरु समेत अनिवार्य पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

आयोगले जारी गरेको आचारसंहिताअनुसार कुनै पनि कर्मचारीले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्। निर्वाचनमा संलग्न रहने कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य पूर्णतः तथ्यपरक र निष्पक्ष रूपमा निर्वाह गर्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहितामा निर्वाचन अवधिभर मुलुकको प्रतिनिधित्व हुने विशेष अवस्थाबाहेक अन्य प्रयोजनका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमणमा जान वा पठाउन रोक लगाइएको छ।

यसैगरी, सरकारी वा सार्वजनिक निकायका स्रोत र साधनको दुरुपयोग रोक्न पनि आयोगले कडा निर्देशन दिएको छ। उम्मेदवार, राजनीतिक दल, उम्मेदवारका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थानका भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य कुनै पनि सामग्री प्रयोग गर्न दिन नहुने आयोगले स्पष्ट पारेको छ।























