मौन अवधिमा सामाजिक सञ्जालको’सुक्ष्म निगरानी’


काठमाडौँ । निर्वाचनको मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालको प्रयोगमा कडा निगरानी बढाएको छ। जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमनकर्ताहरूमार्फत निरन्तर रिपोर्टिङ लिने काम भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

आयोगले सामाजिक सञ्जालको दुरुपयोग रोक्न दुईवटा विशेष रणनीति अपनाएको छ। पहिलो रणनीति अन्तर्गत, कुनै पनि सूचना लाइक, सेयर वा कमेन्ट गर्नुअघि त्यो सत्य र आधिकारिक हो वा होइन भनी यकिन गर्न सार्वजनिक रूपमा अपिल गरिएको छ। यसका लागि आयोगले प्रवर्द्धनात्मक तरिकाले नागरिकलाई सम्झाउने र बुझाउने काम गरिरहेको छ।
दोस्रो रणनीति अन्तर्गत कसैले सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, अपमान गर्ने वा भ्रामक सूचना फैलाउने जस्ता कानुन विपरीतका कार्य गरेमा कडा कारबाही गरिने प्रवक्ता भट्टराईले स्पष्ट पारे। यसका लागि आयोगमा ‘सूचना सदाचार प्रवर्द्धन एकाइ’ गठन गरिएको छ, जसले यस्ता गतिविधिहरुको सूक्ष्म निगरानी गरिरहेको छ।

प्रवक्ता भट्टराईले भने, हामीले सामाजिक सञ्जालको दुरुपयोग हुन नदिन सार्वजनिक रुपमा आह्वान गरेका छौँ। यति गर्दागर्दै पनि कसैले गालीगलौज गर्ने वा अपमान गर्ने जस्ता गतिविधि गरेमा हाम्रो सूचना सदाचार प्रवर्द्धन एकाइले त्यसलाई नजिकबाट हेरिरहेको छ र कानुन विपरीतका कार्य गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखेर पठाइरहेको छ।
उनका अनुसार आयोगले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरु, नेपाल प्रहरी, प्रेस काउन्सिल र नेपाल दूरसञ्चार प्राधिकरण जस्ता नियमनकारी निकायहरुसँग नियमित समन्वय र सहकार्य गरिरहेको छ। विज्ञहरुको टोलीले आयोगमै बसेर निगरानी गरिरहेकाले कानुन विपरीतका गतिविधि गर्नेहरु तत्काल कानुनी दायरामा आउने प्रवक्ता भट्टराईले जानकारी दिए।






















