रुपन्देहीका ११ स्थानीय तहमा कोराना बिरुद्व खोप सञ्चालन

बुटवल,पुस२६। कोरोना संक्रमणका बिरुद्व रुपन्देहीका ११ स्थानीय तहमा भेरोशेला खोप सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीले १८ वर्ष माथिका नागरिकका लागि सोमबारदेखि जिल्लाको ११ स्थानमा भेरोशेला खोप सञ्चालन गरेको हो। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका,सैनामैना नगरपालिका,कञ्चन गाउंपालिका, गैडहवा गाउंपालिका, सुद्वोधन गाउंपालिका,सियारीगाउंपालिका,मायांदेवी गाउंपालिका, सिद्वार्थ नगरपालिका, कोटहीमाई गाउंपालिका, मर्चवारी गाउंपालिका र समरिमाई गाउंपालिकामा दोस्रो चरणको भेरोशेला खोप सञ्चालन गरिएको हो। रुपन्देहीका १८ वर्ष माथिका १ लाख ७३ हजार नागरिकलाई कोरोना बिरुद्वको दोस्रो चरणको खोप लगाउने गरी खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी गराए। पुस २६ गतेदेखि सञ्चालन गरिएको खोप कार्यक्रम २९ गतेसम्म चल्ने र उक्त चार दिनको अवधीमा १८ वर्ष माथिका १ लाख ७३ हजार नागरिकलाई खोप लगाउने स्वास्थ्य कार्यालय रुपन्देहीको योजना छ।

पुस २९ गतेपछि रुपन्देहीका हरेक स्थानीय तहहरुमा हप्ताको दुई दिन एउटा पालिको एक ठाउंमा खोप कार्यक्रमलाई नियमति गराउने खोप अधिकृत भेषराज शर्माले जानकारी गराए। विदेश जाने नागरिकका लागि पनि रुपन्देहीका सबै स्थानीय तहबाट खोप सेवा उपलब्ध गराउने स्वास्थ्य कार्यालय रुपन्देहले बताएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यस अघि रुपन्देहीमा १८ वर्ष माथिका ८६ प्रतिशत नागरिकले पहिलो चरणको खोप लगाइ सकेका छन्। रुपन्देहीमा १८ वर्ष माथिका नागरिकको संख्या ७ लाख १३ हजार १ सय ८६ रहेको छ। सबै जनालाई कोरोना बिरुद्वको खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ। १८ वर्ष मुनिका बालवालिकालाई रुपन्देहीमा २१ हजार ७ सय जनलाई कोराना बिरुद्वको खोप लगाइएको छ ।