रोजगारी सिर्जनामा अब्बल बन्दै तिलोत्तमा


श्यामलाल पोखरेल
तिलोत्तमा, चैत ३० गते । देशकै नमुना नगरपालिकाको रुपमा परिचित रुपन्देहीको तिलोत्तमा नगरपालिका रोजगारी सिर्जनाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर अघि बढेको छ ।

तिलोत्तममा साना तथा मझौला खालका उद्योगहरु बढ्दै गएकाले रोजगारी सिर्जना पनि बृद्धि हुंदै गएको पाइएको हो । बुटवल र भैरहवाको बीचमा औद्योगिक र व्यापारिक सम्भावना बोकेको क्षेत्र भएकाले यहां साना तथा मझौला उद्योगहरु खुल्नेक्रम जारी छ । तिलोत्तमा रोजगारी सिर्जनामा अब्बल मानिन्छ ।
२०८२ को चैतको तेस्रो हप्ता सम्मको तथ्यांक अनुसार नगरपालिकामा १३ हजार २ सय बढी साना तथा ठूला र मझौला खालका व्यवसाय दर्ता भएका छन् । तिलोत्तमा नगरपालिका उद्योग शाखा प्रमुख मुक्तिराम खनालका अनुसार १३ हजार २ सय बढी साना तथा ठूला र मझौला उद्योगहरुबाट ५० हजार बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

तिलोत्तमामा रोजगारका लागि प्रमुख माध्यम उद्योगहरु हुन् । विशेष गरेर कृषि तथा पशुपालनमा आधारित उत्पादनमुखी उद्योगहरुले रोजगारी दिएका छन् । होटल तथा पर्यटन व्यवसाय अन्तरगत सानादेखि ठूला होटल, रिसोर्ट, र व्यापारिक मलहरूले गर्दा सेवा क्षेत्रमा रोजगारीका अवसरहरु बढ्दै गएका छन् ।
स्वास्थ्यको क्षेत्र पनि फस्टाउंदै गएकाले यहां साना ठूला अस्पताल र मेडिकलहरु खुलेका छन्, यहां पनि राम्रै रोजगारी सिर्जना भएको देखिन्छ । शिक्षामा तिलोत्तमा नगरपालिका अब्बल मानिन्छ । दर्जनौंको संख्यामा रहेका साना तथा ठूला शिक्षण संस्थाहरुले पनि हजारौ जनालाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा रोजागारी दिएका नगरपाकिलाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।
अर्कोतर्फ बसोवासको हिसावले तिलोत्तमा उत्तम मानिएकाले पनि घर जग्गाको कारोवार पनि फस्टाउंदो अवस्थामा रहेकाले पनि रोजगारी र स्वरोजगारका अवसर सिर्जना भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम हटेपछि राष्ट्रिय रोजगार प्रवद्र्वनको रुपमा नयां कार्यक्रम आएपछि पनि तिलोत्तमा नगरपालिकाले बेरोजगार नागरिकको सूचीकरण गरी विभिन्न पूर्वाधार निर्माणका कार्यमा संलग्न गराउँदै आएको छ ।
नगरपालिकाको रोजगार शाखा, उद्योग, सामाजिक र शिक्षा शाखाले रोजगारका लागि विभिन्न प्रकारका तालिमहरु दिंदै आएको नगर प्रमुख रामकृष्ण खांणले बताए । नगरवासीलाई उद्यमी बन्न र बनाउन नगरपालिकाले उद्यमी स्टार्टअप कर्जा ,युवाहरुका लागि सहुलियतपूर्ण कर्जा र अनुदानका कार्यक्रमले धेरैलाई रोजगारीको व्यवसाय दर्तामा छुट गरेर युवाहरूलाई उद्यमी बनाउन नगरपालिकाले व्यवसाय दर्ता र नवीकरणमा विशेष छुट दिने नीति लिएको नगर प्रमुख रामकृष्ण खांणले बताए ।
कृषि अनुदान, व्यवसायिक कृषि प्रणालीलाई जोड दिँदै आधुनिक खेती गर्ने युवा किसानहरूलाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउंदा तिलोत्तमामा कृषि तथा पशुपालन क्षेत्रमा पनि रोजगारी र स्वरोजगार बन्नेको संख्या उल्लेख्य रहेको छ । सीप विकास तथा तालिमहहरु दिएर नगरपालिकाले रोजगार र स्वरोजगारका लागि दक्ष जनशक्ति तयार पार्न आवश्यकताको आधारमा सीपमूलक तालिहरु दिंदै आएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।
‘नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर महिला सीप विकास तालिमः सिलाइ–कटाइ, बुटिक, र हस्तकला जस्ता तालिमहहरु सञ्चालन गर्ने गरेको छ,यस्तै प्लम्बिङ, इलेक्ट्रिसियन, र कम्प्युटर अपरेटर सम्बन्धी तालिमहरु प्नि सञ्चालन गरेर नगरवासीलाई रोजगारी सिर्जना गर्ने काम गरेको छ’–चौधरीले भनिन्–‘ नगरपालिकाले आफ्नै जब पोर्टल र मोबाइल एप सञ्चालन गरेको छ, जसले गर्दा स्वरोजगारका लागि पाइने अनुदान वा तालिमको जानकारी आफ्नो वडा कार्यालयबाट सहजै लिन सकिन्छ ।’
नगरपालिकाले बेरोजगार व्यक्तिलाई सूचित हुन र सीपमूलक तालिहरुमा सहभागी हुनका लागि अपिल गरेको छ । महिला र युवा लक्षित गरी वैदेशिक रोजगारीबाट फर्किएर घरमै बसेका युवा तथा महिलाहरु उद्यमशील बन्न खोजे नगरपालिकाले साथ सहयोग गर्ने गरेको उपप्रमुख चौधरीले बताइन् ।























