मुक्तिराज पौडेल:अस्पतालमा फलफूलको सट्टा नगदी खाम मानवीय सहायताको एक नवीन र प्रेरणादायी अभियान


बुटवल । नेपाली समाजमा अस्पतालमा भर्ना भएका बिरामी भेट्न जाँदा फलफूल, जुस वा बिस्कुट लैजाने परम्परा वर्षौंदेखि चल्दै आएको छ । बिरामी भेट्दा फलफूल लैजाने परम्परागत शैलीलाई चिर्दै’उपचारमा सहयोग’को सन्देश फैलाउने उद्देश्य अनुरुप पछिल्लो समय बुटवलका सामाजिक अभियन्ता मुक्तिराज पौडेलको अगुवाइमा एउटा फरक र सान्दर्भिक अभियानले चर्चा पाएको छ-नगदी अभियान, स्वास्थ्य लाभ कार्ड । अभियानले यसअघि बिरामी भेट्न जाने परम्परागत शैलीलाई रुपान्तरण गर्दै बिरामीलाई वास्तवमै आवश्यक पर्ने आर्थिक सहयोग तर्फ समाजको ध्यान केन्द्रित गर्ने देखिएको छ ।

अभियन्ता पौडेलले केही वर्षअघि बुटवलमा सुरु गरेको यो’नगदी खाम अभियान’अहिले धेरैका लागि अनुकरणीय बनेको छ । बिरामीको स्वास्थ्यभन्दा पनि औपचारिकता र देखावटीपनमा सीमित हुने भेटघाटलाई यो अभियानले गम्भीर अर्थतन्त्र र मानवीय संवेदनासँग जोडिदिएको छ । पौडेलले चलाएको यो अभियानले अस्पतालमा बिरामी भेट्न जाँदा परम्परागत रुपमा फलफूल लगायत खाने वस्तु लैजाने संस्कृतिलाई चुनौती दिँदै एउटा फरक र रचनात्मक अभियानको रुपमा सान्दर्भिक बन्नुको साथै बिरामीलाई फलफूल होइन, नगदी खाम । यो अभियानले अस्पतालको वार्डहरुमा थुप्रिने फोहोर र बिरामीको तत्कालिन आवश्यकतालाई सम्बोधन गर्दै मानवीय र आर्थिक सहायताको नयाँ खाका तयार पार्ने देखिएको छ ।
अस्पतालमा बिरामी भेट्न जाँदा फलफूल होइन, नगद खाम दिने अभियानका सामाजिक अभियन्ता मुक्तिराज पौडेल भन्छन्,”अस्पतालमा पैसा नभएर बिरामीको उपचार रोकिनु हुँदैन,” सानो-सानो सहयोगले कसैको जीवन बच्छ भने त्यो नै वास्तविक सामाजिक सेवा हो । यस अभियानको मुख्य उद्देश्य बिरामीलाई प्रत्यक्ष, व्यावहारिक र आवश्यक सहयोग पुर्याउनुको साथै समाजमा सहयोग गर्ने संस्कारलाई नयाँ ढंगले स्थापित गर्नु हो । बिरामी हुनु कसैको रहर नभई बाध्यता भएको उल्लेख गर्दै, आजको महंगो स्वास्थ्य प्रणालीका कारण सामान्य नागरिकका लागि उपचार निकै चुनौतीपूर्ण बन्दै गएको बेला आफुले उठान गरेको बिषयमा केवल प्रशंसा गरेर होइन, त्यसमा सहभागी भएर अघि बढ्नु नै साँचो समर्थन हुन्छ ।

उनले अगाडि थपे, “लाज नमानी सहयोग हस्तान्तरण र ग्रहण गरौं” भन्ने सन्देश दिँदै हामीले गरेका प्रयासले नै समाजमा ठूलो परिवर्तन ल्याउन सक्छन् । त्यसैले अब हामी सबैले मिलेर अस्पतालमा बिरामी भेट्न जाँदा नगद खाम दिने संस्कारलाई सामान्य बनाउँदै, सहयोग, सहकार्य र मानवीयताको नयाँ उदाहरण स्थापना गर्न आवश्यक छ ।
पहिलो पाइला नेपाल रुपन्देही शाखा अध्यक्ष गोमा भट्टराईले पनि यस अभियानप्रति आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्दै यस्तो अभियानले बिरामीलाई वास्तविक सहयोग पुर्याउनुका साथै समाजमा आपसी सहयोग, विश्वास र भावनात्मक एकता बलियो बनाउने बताइन् । उनका अनुसार कठिन अवस्थामा गरिने सानो सहयोगले पनि मानिस–मानिसबीचको सम्बन्धलाई अझ नजिक र अर्थपूर्ण बनाउने विश्वास व्यक्त गरिन् ।
बुटवलका युवाले शुरुवात गरेको ‘नगदी स्वास्थ्य लाभ कार्ड’अभियानमुखी प्रयासले देखावटी संस्कृतिलाई विस्थापित गरी मानवीय सेवाको व्यावहारिक पक्षलाई अगाडि बढाउने र यो प्रयासले अन्य शहरहरुका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्छ,आर्थिक रुपले कमजोर बिरामीहरुका लागि राहतसँगै समाजमा एकअर्काप्रतिको जिम्मेवारी र आत्मीयतालाई अझ मजबुत बनाउने मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पूर्वअध्यक्ष कृष्ण भट्टराईको भनाई छ ।























