कम्युनिष्ट भन्नेहरुबाटै कम्युनिष्ट आन्दोलन असुरक्षित


बुटवल, बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टीकोे ७८ औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दर्जन बढी चिरामा विभाजित कम्युनिष्ट पार्टीहरुले आआफ्नै ढंगले नेपाल कम्युनिष्ट पार्टीको ७८ औं स्थापना दिवस र लेनिनको १५७ औं जन्मजयन्ती मनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी मसाल रुपन्देहीले पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस र लेनिन जयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंहले कम्युनिष्ट पार्टीको सिद्दान्त र लेनिवादी संगठनात्मक प्रणाली नमान्नेहरुका कारण नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर हुंदै गएको बताएका छन् ।

कम्युनिष्ट भन्ने तर कम्युनिष्टको नीति, सिद्दान्त र अनुासशन पालना नहुंदा कम्युनिष्टमा विभाजन आएको बताउंदै सबैले कम्युनिष्टको नीति, सिद्दान्तलाई आत्मसाथ गरेर क्रान्तिको दिशामा अगाडि बढ्नको अर्को विकल्प नभएको नेता सिंहको भनाइ छ ।
महामनत्री सिंहले नेपाली कम्युनिष्ट आन्दोलनले लामो संघर्षपूर्ण यात्रा तय गरेको भएपनि राष्ट्रियता र स्वाधीनतामाथि बाह्य हस्तक्षेपको खतरा अझै समाप्त नभएको बताउंदै विगतमा भारतीय साम्रराज्यबादविरुद्ध संघर्ष गर्दै आएको उल्लेख गर्दै अहिले अमेरिकी साम्राज्यवादको चुनौती थपिएको बताए ।

७८ वर्षको इतिहास केवल उत्सव होइन, यो संघर्षको निरन्तरता हो भन्दै नेता सिंहले भने राष्ट्रिय स्वाधीनताको रक्षाबिना कुनै पनि राजनीतिक उपलब्धि दीर्घकालीन हुन सक्दैन ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साम्राज्यवादीहरुको एजेण्डा बोकेर कम्युनिष्ट पार्टीलाई बदनाम गरिएको बताउंदे त्यसो गर्न नपाइने बताए । कम्युनिष्ट पार्टीको दीर्घकालिन लक्ष्य, उद्देश्यसहितको नीति, सिद्दान्त छ, लेनिनवादी संगठनात्मक सिद्दान्त छ, त्यो पूर्णरुपले पालना गरेर मात्रै कम्युनिष्ट बन्न सकिने बताए ।
सत्ता, शक्ति, दाम, सामन्तबाद र विदेशी साम्राजयवादी शक्तिको आडमा कम्युनिष्टको भ्रम छर्नेहरुबाट नेपालको कम्युनिष्ट आन्दोलन जोगाउनु पर्ने बताउंदै नेता केसीले भने कम्युनिष्टको नाममा दलाली गर्नेहरुको बिगबिगी बढेकाले कम्युनिष्ट पार्टी जोगाउन कम्युनिष्ट बनौ ।
देशमा कम्युनिष्ट एकताको कुरा चलेपनि सही प्रकारका कम्युनिष्हरु नभएकाले पार्टी उकता हुन नसकेको बताउंदै नेकपा मसाल र राष्ट्रिय जनमोर्चाका बोहक अरुले कम्युनिष्ट सिद्दान्त र लेनिनवादी संगठनात्मक सिद्दान्त पोलेर खाइसकेको आरोप लगाए । नेपालको कम्युनिष्ट आन्दोलन आफुलाई कम्युनिष्ट भन्नेहरुबाटै असुरक्षित बन्दै गएको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेल, वामपन्थी नेता दुर्गानाथ खरेल, चेतनाथ आचार्य, बद्रे आलम लगायतले बोल्दै कम्युनिष्ट आन्दोलन कमजोर भएको बताउंदै नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर हुंदा राष्ट्रिय पनि कमजोर हुंदै गएको बताए ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना २००६ वैशाख ९ गते भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नरबहादुर कर्मचार्य, निरन्जनगोविन्द बैद्य, नारायणविलास जोशी सदस्य थिए ।
जहानियाँ राणा शासनको समयमा सुरु भएको यो आन्दोलनले पछि नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको थियो । १९९० पछि कम्युनिष्ट आन्दोलन सशक्त र बलियो शक्ति बनेको थियो ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि जनताका उत्साहा छाएको थियो । अहिले एउटै कम्युनिट पार्टी विभाजन हुंदै जांदा दर्जन बढी कम्युनिष्ट पार्टी बनेका छन् । जसले गर्दा कम्युनिष्ट आन्दोलन वा कम्युनिष्ट पार्टीहरु कमजोर हुंदापनि कम्युनिष्ट मिल्न सकेका छैनन् ।























