धानखोला-लमही सडक स्तरोन्नतिको शिलान्यास


बुटवल । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्यको औपचारिक रुपमा शिलान्यास भएको छ । बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गरेका हुन् । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिने भएको छ ।

यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरणमैंत्री बनाउने बताइएको छ । यसबाट दीर्घकालीन रुपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई-दुई मिटर सोल्डर निर्माण गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अत्याधुनिक प्रविधिको प्रयोगले गुणस्तरीय हुने बताए । उनले सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दो बनाउनुका साथै स्थानीय व्यवसाय, कृषि र उद्यममा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल–अमेरिका साझेदारीको महत्वपूर्ण उदाहरणका रुपमा यस आयोजनालाई लिनुपर्ने बताए । उनले ढुवानी लागत घटाउने, सडक सुरक्षा अभिवृद्धि गर्ने र स्थानीय समुदायलाई बजारसँग जोड्ने लक्ष्यमा यो परियोजना केन्द्रित रहेको स्पष्ट पारे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी सरकारका योजना तथा कार्यक्रमको पूरकका रुपमा रहेको बताए । यस सहकार्यले पूर्वाधार विकास र आर्थिक अवसर विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने प्रविधिमार्फत् लागत प्रभावकारी पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै पारदर्शी र उच्च गुणस्तरसहित कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिका प्रतिनिधि सौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । सडकखण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो । निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको हो । गत पुस ७ गते एमसिए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।
























