खुद्रा समानमा तत्काल मुल्य राख्न सकिदैन – व्यवसायी


बुटवल, बैशाख १७ गते । सरकारले ल्याएको एमआरपी नीतिका विषयमा शुक्रबार बुटवलमा अन्तरक्रिया गरिएको छ । रुपन्देही व्यापार संघको आयोजनामा व्यावसायी र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीबीच अन्तरक्रिया गरिएको हो ।

उक्त कार्यक्रममा सहभागी व्यावसायीहरुले राजस्व, भन्सार, बैंक तथा वित्तिय क्षेत्र एवं सरकारले पछिल्लो समय ल्याएको एमआरपीको विषयमा व्यवसायीले आआफ्ना धारणा राखेका थिए । व्यवसायीले विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण वस्तुहरुको पैठारीकर्ताले अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने विषय तत्कालै कार्यान्वयनका लागि अव्यवहारिक रहेको बताए ।
कार्यक्रममा सहभागी व्यवसायीहरुले भने – यस्ता विषयले औद्योगिक वस्तु जस्तैै – कच्चा पदार्थ, मेशिनरी, औजार) तथा पेटिसेवल वस्तु (जस्तै फलफूल, तरकारी) यो कसरी सम्भव छ भन्दै प्रति प्रश्न गरे । स्टक रहेको सामान, पसलसम्म आइपर्ने लागत तथा फरक फरक प्रकृृतिका वस्तुमा यो लागु गर्न असम्भव रहेकोले सरकारले व्यावसायीहरुलाई जवरजस्ती कार्यान्वयनका लागि आतंकित बनाउन खोजेको व्यवयसायीहरुको भनाइ छ ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले मुलुकको अर्थतन्त्रको विकासमा व्यावसायीहरुको ठूलो योगदान रहेको बताउंदै राज्यले नया“ नया“ नीतिहरु ल्याउंदा व्यावसायीलाई सहज हुने गरी ल्याउनु पर्नेमा जोड दिए ।
संघका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले राज्यले आर्थिक वर्षमा ल्याउने नीति तथा कार्यक्रम बजेट तथा आर्थिक ऐन बनाउंदा व्यवहारिक ऐन बनाउन सुझाब दिए । राज्यको अर्थतन्त्रलाई सवल बनाउन नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले भने – सरकारले निजी क्षेत्रसंग समन्वय र सहजीकरण गर्नुपर्छ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दयानिधी भण्डारी, नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक रमेश आचार्य, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुन्धान अधिकृत राधेश्याम दाहाल, आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बस्याल, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा कार्यालय प्रमुख धर्मा अर्याल बेल्वासे, इलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख श्रीनाथ पौडेल, घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका वरिष्ठ उद्योग अधिकृत मोहन परियार, आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत फर्शुराम पोखरेल, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु पन्थी, संघका आर्थिक सल्लाहकार नारायण घिमिरेले उठेका विषयमा सहजीकरण गरेका थिए ।
संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता र महासचिव प्रकाशराज पौडेलको सञ्चालनका कार्यक्रम भएको थियो । रुपन्देही व्यापार संघले पछिल्लो समय बेलाबेला व्यवसायी र सरोकारवाला निकायबीच विभन्न विषयमा अन्तरक्रियाहरु ग्र्दै आएको छ ।
























