रोल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो


रोल्पा, बैशाख १७ गते । रोल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापाले दिएको जानकारी अनुसार दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ ।

प्रहरी निरीक्षक थापाले दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको बताएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी रुकुम पूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । घाइते कामीको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहे छ ।
रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा भिरबाट करिव ८ सय मिटर तल खसको थियो ।
भौगोलिक विकटता, वर्षा र राती भएका कारण खोजी तथा उद्धारमा समस्या भएको प्रहरलिे बताएको छ । दुर्घटनामा परेको जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमामा लाग्ने मेला हेर्न जाने तीर्थयात्री रहेका थिए ।
























