लुम्बिनी अस्पतालमा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य सेवा

बुटवल,माघ९गते। बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पत्रकारलाई आईसीयु (इन्टेन्सिभ केयर युनिट) र एचडियु (हाई डिपेन्डेन्सी युनिट) सेवा निःशुल्क हुने भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको पहलमा फन्टलाईन खटिएर काम गर्ने पत्रकारहरुका लागि प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। कोरोना संक्रमण भएमा उपचारलाई सहज बनाउनको लागि नेपाल पत्रकार महासंघ रुपन्देहीको पहलमा पत्रकारलाई आईसीयु र एचडियु सेवा निःशुल्क गरिएको हो।
कोरोना संक्रमित पत्रकारहरुका लागि सहज रुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबीच आइतबार हमति भएको छ। नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
सहमति अनुसार नेपाल पत्रकार महासंघको सिफारिस र प्राथमिकताको आधारमा पत्रकारलाई एउटा एचडियु वेड तथा एउटा आईसीयु वेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा निःशुल्क परामर्श सेवा तथा पिसिआर परीक्षणलाई निःशुल्क गर्ने उल्लेख गरिएको छ।
सहमति पत्रमा हस्ताक्षरपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेश्रो लहरको बेला सहज र प्राथमिकताका साथ उपचार प्रबन्ध मिलाउन महासंघले गरेको आग्रहलाई स्वीकार गरिएको बताए ।उनले पत्रकारहरुका लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गर्ने प्रतिवद्वता जनाएका छन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारहरुले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाउनु पर्ने र पत्रकारहरुको स्वास्थ्य सेवा निशुल्क गर्ने दायित्व राज्यको भएकाले राज्यलाई आफ्नो दायित्व पुरा गर्न आग्रह गरे। लुम्बिनी प्रादेशिक अस्पतालले पत्रकारहरुको निशुल्क स्वास्थ्य सेवा दिने भएपछि अब पत्रकारहरुलाई काम गर्न सहज हुने बताए। पत्रकार महासंघको मागलाई सम्बोधन गरेको भन्दै पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल र अमृता अनमोलले अस्पतालप्रति धन्यबाद ज्ञापन गरेका छन्।