चार देशीय टी२० क्रिकेट शृंखला

ओमनमाथि नेपालको पहिलो जित

 

 

बुटवल/नेपालले ओमनलाई पहिलो पटक क्रिकेट टि२० मा पराजित गर्न सफल भएको छ । उसैको खेल मैदानमा जारी चार देशीय टी२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ओमानमाथि रोमाञ्चक जित निकालेको हो ।
शुक्रवार आज भएको खेलमा घरेलु टिम ओमानलाई नेपालले ६ विकेटले जितेको हो। ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गर्दै निर्धारित ओभरमा तीन बल बाँकी रहँदै चार विकेट गुमाएर ओमानले दिएको १३६ रनको लक्ष्य पार गरेको हो ।


नेपालले ओमानमाथि दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा कीर्तिमानी जित हात पारेको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालले टि२० मा ओमानलाई पहिलो पटक हराउन सफल भएको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी एक्लैले ५३ बलमा ८ चौका र १ छक्कासहित ७३ रनको योगदान गरेका थिए ।
अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । ओमानकातर्फबाट कप्तान जिशान मकसुदले ४१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४३ रन बनाउदै अविजित रहेका थिए ।
नेपालकातफबाट तीव्र गतिका बलर अभिनाश बोहरा सर्वाधिक सफल बलर बनेका छन् । उनले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए भने आरिफ शेखले १ ओभरमा २ रन खर्चेर १ विकेट लिएका थिए । कमलसिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिदै गर्दा डेब्यू खेल खेलेका स्पिनर सागर ढकालले ३ ओभरमा ३६ रन खर्चेपनि विकेट लिन सकेनन् ।
नेपालको व्याटिंग ओपिनिंग ओपनर आशिफ शेख र प्रदिप ऐरीले गरेका थिए । जसमा शेख ११ बलमा १४ रन बनाउँदै आउट भए भने १४ बलमा चार रन बनाएका प्रदीप ऐरी आउट भएका हुन । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए भने आरिफ शेखले २० बलमा २५ रन बनाउदै आउट भएका थिए ।


नेपाललाई अन्तिम ६ बलमा ९ रन जितको लागि आवश्यक थियो । तीव्र गतिका बलर मोहम्मद नदिमईको पहिलो बलमा दीपेन्द्रले चौका प्रहार गर्दै जित सहज बनाएका थिए । दोस्रो बलमा दुई रन बटुले । तेस्रो बलमा दीपेन्द्रले चौका प्रहार गर्दै जित एतिहासिक जित दिलाएका हुन । दीपेन्द्रको टि२० आई करिअरको दोस्रो अर्धशतक हो । उनले आफ्नो टि२० आई करिअरको पाँच सय रन पूरा गरेका छन् ।
चार देश सम्मिलित सिरिजमा नेपालले शनिबार युएईसँग खेल्नेछ ।