ब्यापार घाटा बढ्यो– प्रदेश अर्थमन्त्री

सीमानाका बन्द गर्न किराना व्यवसायीको माग

बुटवल,फागुन१३गते। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले दिन प्रतिदिन ब्यापार घाटा बढेको बताएका छन् । दिन प्रतिदिन ब्यापार घांटा बढ्दै गएकाले देशको अर्थतन्त्र कमजोर अबस्थामा रहेको बताए।मन्त्री खड्काले परनिर्भरताका कारण कमजोर भएको देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा ध्यान दिनुपर्ने बताए। खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको शुक्रबार बुटवलमा सम्पन्न १५ औं बार्षिक साधारण सभा तथा आठौ अधिवेशनमा बोल्दै मन्त्री खड्काले देशलाई आत्मनिर्भर बनाउन नीजि क्षेत्रको हात रहेको बताए।

सुगौली सन्धिपछि नेपालमा परनिर्भरता बढेको उल्लेख गर्दै मन्त्री खड्काले भने–उत्पादनलाई बढाएर देशलाई परर्निभरताबाट मुक्त गर्नुपर्छ। त्यसका लागि सरकारले सबै क्षेत्रलाई साथ दिन्छ। उनले आर्थिक रुपले देशलाई अगाडी बढाउनका मुख्य श्रोत नीजि क्षेत्र भएको बताउंदै नीजि क्षेत्रका समस्याप्रति प्रदेश सरकारले सहयोग पुराउने आश्वासन दिए। विदेशी वस्तु मात्र विक्री वितरण गरेर देश आर्थिक रुपले बलियो हुन नसक्ने बताउंदै नीजि क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक रहेको मन्त्री खड्काको तर्क छ।

माओवादीका नेतासमेत रहेका मन्त्री खड्काले दाङलाई प्रदेशको स्थायी राजधानीको रुपमा विकास गरिने र बुटवललाई आर्थिक केन्द्रको रुपमा विकास गरेर लुम्बिनी प्रदेशलाई आतमनिर्भर बनाउन सकिने तर्क गरे। नेपाली कांगे्रस बुटवल नगर सभापति खेलराज पाण्डेले साना ब्यवसायिलाई बचाउनका लागि घरभाडा र करमा ५० प्रतिशत छुट दिनुपर्ने बताए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले साना ब्यवसायिलाई संरक्षण गर्नुपर्ने र संरक्षण गर्ने दायित्व सरकारको भएको बताए। खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेले स्वदेशी उत्पादनले प्रोत्सान नपाउंदा र बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु निर्बाध रुपमा बिक्री बितरण हुंदा किराना ब्यवसायीले ठूलो समस्या भोग्नु परेको गुनासो गरे।

संघका सल्लाहाकार कृष्णप्रसाद पाण्डेले खुल्ला सीमानाबाट अबैध ब्यापार बढेकाले किराना व्यवसायी मारमा परेको भन्दै खुल्ला सीमानाका सदाका लागि बन्द गर्न सरकारसंग माग गरे। कार्यक्रममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहाल, नापतौल तथा गुणस्तर विभागका बुटवलका प्रमुख शम्भुकुमार झां, खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष महेन्द्र पोखरेल,सचिव थानेश्वर अर्याल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यष डिपी खनाल लगायतले बोल्नुभएको थियो। संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता र महासचिव गोपालकुमार प्रधानको सञ्चालनमा भएको कार्यक्रममा पत्रकार कपिल ज्ञवालीलाई संघले स्थापना गरेको व्यवसायिक उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान तथा पुरस्कृत गरिएको छ। पत्रकार ज्ञवालीलाई नगदसहित लुम्बिनी प्रदेश मन्त्री कृष्णध्वज खड्का र संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेले सम्मान गरेका थिए। त्यस्तै संघका पे्रस सल्लाहाकार पत्रकार तेजेन्द्र केसीलाई पनि संघले सम्मान गरेको छ। संघले आफ्ना संस्थापक, संघमा आवद्व रहेर उत्कृट काम गरेरका व्यवसायी, एसईई परिक्षामा उत्कृष्ट व्यवसायिका छोराछोरी र विभिन्न संघ सस्थालाई सम्मान गरेको छ। खुद्रा तथा किराना व्वसायी संघले आफ्नो १५ औं बार्षिक साधारण सभा तथा आठौ अधिवेशनको अबसरमा बुटवलस्थित साझा अस्पतालको सहयोग स्वास्थ्य शिविरको आयोजना गरेको थियो। साथै संघमा आवद्व व्यवसायिहरु र देउराली उपभोक्ता सहकारीमा आवद्व सदस्यहरुको स्वास्थ्य उपचारका लागि साझा अस्पतालसंग सहुलियतमा स्वास्थ्य उपचार गराउने गरी सम्झौता भएकोछ। अस्पतालका सञ्चालक डिपी खनाल, संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपाने र देउराली उपभोक्ता सहकारीका अध्यक्ष महेन्द्र पोखरेलबीच आपसी सहमति भएको छ।