बुटवलबाट १७ र पाल्पाबाट ७ जना बन्दकर्ता गिरफ्तार

बुटवल,फागुन१६गते। रुपन्देहीको बुटवलबाट बन्द आह्वान कर्ता तथा राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी र नेकपाका १७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बुटवलको अस्पताललाईनबाट वामपन्थी नेता तथा कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिट ब्यूरो सदस्य पे्रम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, बिरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका बन्द कर्ताहरुलाई इलाका प्रहर िकार्यालय बुटवलमा राखिएको छ ।


ईलाका प्रहरी कार्यालय बुटवल भित्रै बन्द आह्वान कर्ताहरुले एमसीसीविरुद्व नारावाजी गरेका छन् । यस्तै पाल्पाबाट राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडल, नेपाल कम्युनिष्ट पार्टीका पाल्पा सचिव भुवन जीसी,नेकपा क्रान्तिकारी माओवादी पाल्पाका सचिव लिला जीसी, युवा संगठन नेपालका बेदप्रसाद विश्वकर्मा, अखिल क्रान्तिकारीका संयोजक लंक राना र सुदिप विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाण्डौमा विद्यार्थी नेता तथा अखिल छैठौंका पूर्व अध्यक्ष मिल पोखरलसहित दर्जन बढी गिरफ्तारीमा परेका छन् भने कास्कीको पोखरामा अखिल छैठौंका जिल्ला अध्यक्षसहितका दर्जन बढी गिरफ्तारमा परेका छन् ।

राष्ट्रघाती एमसीसीविरुद्व आयोजना गरिएको बन्दका क्रममा गिरफ्तार गरिएको देशभरका नेता तथा कार्यकर्ताहरुलाई तत्काल विना सर्त रिहाई गर्न राजनीतिक दलहरुले माग गरेका छन् ।
बुटवल, काठमाण्डौ, पोखरा लगायतका देशका विभिन्न ठाउंबाट सय जना बढीलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । लुम्बिनी क्षेत्र लगायत देशभर बन्दको प्रभाव परेको छ ।एमसीसी परियोजना देशका लागि घातक भएको भन्दै सर्वसाधारण नागरिकले बन्दप्रति सर्मथन जनाएका छन् ।