किसान महासङ्घ रुपन्देहीको चेतावनी : “माग सम्बोधन नभए कडा आन्दोलन हुन्छ”

भैरहवा । राष्ट्रिय जनमोर्चानिकट अखिल नेपाल किसान महासङ्घ रुपन्देही जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएको छ । किसान महासङ्घको केन्द्रीय कार्यक्रमअन्तर्गत विहिवार देशैभरिका लागि निर्धारण गरिएको कार्यक्रम अनुसार रुपन्देहीमा पनि धर्ना सहित मागपत्र बुझाइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे मार्फत प्रधानमन्त्रीलाई बुझाइएको मागपत्रमा गहुँ लगाउनु पूर्व नै मलको व्यवस्था गर्न माग गरिएको छ । मागपत्र बुझाउनु पूर्व प्रशासन कार्यालयमा भएको सभालाई सम्वोधन गर्दै महासंघका रुपन्देही अध्यक्ष गणेश गौतमले सरकार किसानका समस्याहरु प्रति उदासिन देखिएको बताए । उनले मागपत्र मार्फत माग सम्वोधन नभए शसक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

किनसान महासंघले बुझाएको ८ बुदे मागपत्रमा सिचाई र सिचाइका लागि आवश्यक विद्युतमा सतप्रतिशत अनुदान दिनु पर्ने माग समेत गरिएको छ । भ्रष्टाचार र महंगीले किसानको जीवन तहसनहस भएको भन्दै यी विकृतिहरु बन्द गर्न पनि महासंघले माग गरेको छ । कोभिड १९ का विरामीहरुको अवस्था दयानीय रहेको भन्दै त्यसको उपचारमा तदारुकता देखाउन मागपत्रमा माग गरिएको छ ।

अलिख नेपाल किसान महासंघका केन्द्रिय सदस्य रुकबहादुर पराजुली, महासंघका रुपन्देही अध्यष गणेश गौतम, राष्ट्रिय जनमोर्चा सिद्वार्थनगरका अध्यक्ष नत्र आचार्य, नेकपा मसाल रुपन्देही प्रवक्ता नारायण जीसी, जयश्वर रेग्मी लगायतले बोल्दै किसानका समस्याप्रति सरकार गम्भीर नहुंदा किसानहरु समस्यामा परेको भन्दै सरकारको आलोचना गरेका थिए ।