पर्यटन नीति बनाउन पर्यटन व्यवसायीको सरकारसंग माग

श्यामलाल पोखरेल
बुटवल,चैत्र१८गते। होटलतथा पर्यटन व्यवसायीले पर्यटन नीति बनाउन तिनै तहका सरकारसंग माग गरेका छन्। पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीति नभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको बताए ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको शुक्रबार बुटवलमा सम्पन्न २१ औं वार्षिक साधारण सभामा बोल्ने पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको विकासमा राज्य दोषी रहेको बताए ।

कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय कोरोना संक्रमण घट्दै गएपछि केही सहज हुन थालेको बेला देशको अस्थिर राजनीतिले पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीको भनाइ छ। कोरोनाले थिलोथिलो भएका व्यवसायी अहिले घरभाडा र बैंकको व्याजसमेत बुझाउन नसकेपछि व्यवसायबाटै विस्थापित हुने अवस्था आउंदा पनि तिनै तहका सरकार मौन रहेको उनीहरुको गुनासो छ। कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी माधवप्रसाद नेपालले राज्यको स्पष्ट नीति नभएकै कारण पर्यटन क्षेत्र फस्टाउन नसकेको बताए। पर्यटन क्षेत्रको विकासले देशको आर्थिक सम्वृद्वि हुने प्रसस्त सम्भावना रहेपनि त्यसप्रति राज्यले ध्यान दिन नसकेको दावी गरे। उनले देशलाई आर्थिक रुपले सम्वृद्वि बनाउन पर्यटन र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर समयको माग अनुसार स्पष्ट नीतिनै चाहिने बताए। होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पर्यटन व्यवसायलाई राज्यले उद्योग सरहको मान्यता दिने निर्णय गरेपनि कार्यान्वयन हुन नसकेको बताए। राज्यले पर्यटन व्यवसायलाई राजश्व संकलनको रुपमा मात्र लिएकाले पर्यटन व्यवसाय फस्टाउन नसकेको हो भने। कोभिड अबधीको विद्युत डिमाण्ड चार्ज छुट गर्ने सरकारको निर्णय ठिक भएपनि सबै व्यवसायीले सेवा लिन नसकेको बताए। पर्यटन व्यवसायी गोपाल रानाले पर्यटन क्षेत्रको विकासका लागि राज्यले चासो दिनुपर्ने बताए। कृषि र पर्यटनलाई लुम्बिनीसंग जोडर यस क्षेत्रको विकास गर्न सकिने बताउंदै उनले भने त्यसका लागि राज्यको नीति र भिजनसहित कार्यक्रम अगाडी सार्न आवश्यक छ। कार्यक्रममा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डे, सिद्वार्थ होटल व्यवसायी संघका अध्यक्ष पिताम्बर न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्षहरु पे्रमलाल पाण्डे, महेन्द्र श्रेष्ठ, मोदनाथ बेल्वासे, समुन्द्र जीसी लगायतले बोल्दै पर्यटन व्यवसायीका समस्याप्रति सरकारलाइृ गम्भीर बन्न आग्रह गरे। संघका अध्यक्ष रामप्रदा गौतमको अध्यक्षता र महासचिव माधवप्रसाद खनालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमको स्वागतमा कार्यक्रम भएको थियो। सोही अवसरमा संघका कोषाध्यक्ष टंकप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।