नेपाललाई २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने योजना

मनाईयो विश्व औलो दिवस

बुटवल,बैशाख१२गते। औलो भार कम गर्न नयांपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नाराका साथ सोमबार देशभर विश्व औलो दिवस मनाइएको छ।रुपन्देहीको बुटवल र भैरहवामा पनि औलो दिवस मनाइएको छ।अन्तरक्रियाको आयोजना गरी बुटवलमा पनि विश्व औलो दिवस मनाइएको हो।लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले अन्तरक्रियाको आयोजना गरेको हो।सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्र बनाउने सरकारको परिकल्पना छ। औलोमुक्त राष्ट्र बनाउने लक्ष्य अनुसार २०२२ अर्थात यस वर्ष स्थानीय औलोलाई शुन्यमा पुराउने र औलोबाट हुने मृत्यु दर शुन्यमा कायम गर्ने सरकारको योजना छ। तर दक्ष जनशक्तिको अभाव, किटको अभाव र बजेटको अभावले गर्दा योजना अनुसार काम हुन नसकेको छैन ।प्रदेश र स्थानीय तहहरुमा औलो निवारणका लागि दक्ष जनशक्तिको कमीले भने जस्तो काम हुन नसकेको डाक्टर तारा बानियाले बताइन। डाक्टर तारा बानियाले नेपालको तराइ क्षेत्रमा औलो बढी प्रभावित रहेको जानकारी गराइन।उनले औलो नियन्त्रणका लागि प्रदेश,स्थानीय तहमा दक्ष जनशक्ति चाहिने र पर्याप्त मात्रमा आर्थिक श्रोतको व्यवस्था हुनुपर्ने बताइन।स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले औलोको भार कम गरी नागरिकलाई बचाउनु पर्ने र त्यसका लागि स्वास्थ्य कार्यालय गम्भीर रहेको बताए।औलो परिक्षणका लागि किटको अभाव भएकाले माग अनुसार किटको व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्वता जनाए।उनले २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको योजना अनुसार काम गर्नुपर्ने र त्यका लागि जनचेतना जगाउनका लागि मिडियाकर्मीहरुको भूमिका महत्वपूर्ण रहने बताए।पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का र स्वास्थ्य निर्देशनलायका गणेश सापकोटाले बोल्दै नागरिकको स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा स्वास्थ्य क्षेत्र र त्यससंग आवद्व निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए। स्वास्थ्य निर्देशनालयका रामप्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो।
त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि औलो दिवसको अवसरमा अन्तरक्रिया गरेको छ। नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सबैको सहयोगले मात्रा मलेरिया नियन्त्रण गर्न सकिने बताए।औलो अर्थात् मलेरियो लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरलाईसमेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ। स्वास्थ्यकर्मीहरुका अनुसार प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको संक्रमण गराउँछन्। अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको संक्रमण बिरलै गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ। नेपालभर औलो परीक्षण निःशुल्क हुन्छ। औलो अर्थात् मलेरिया लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्। निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्युसमेत हुन सक्ने चिकित्सकहरु बताउछन्।