मनाईयो  विश्व प्रेस स्वतन्त्रता दिवस

बुटवल,बैशाख २० गते ।
विभिन्न कार्यक्रमका साथ मंगलबार देश, विदेशमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको हो। सन १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो। नेपाल पत्रकार महासंघ, केन्द्र, प्रदेश र जिल्लाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका छन्।यस्तै विश्व प्रेस स्वतन्त्रता दिवसका अवशरमा बुटवलमा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा बिषयक प्रदर्शन कार्यक्रम गरिएको छ। मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको बीवी चोकमा प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो ।सोही कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि पूर्ण प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताए।संविधान सभा सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बिनोद पहाडीले विश्वमा सञ्चारकर्मीहरुमाथि बन्देज लगाउने,बन्दी बनाउने, आक्रमण र हत्यासम्मका घटनाले पे्रस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको बताए।नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेले सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगर्दा लोकतन्त्र र सूचनाको अधिकारमाथि धक्का पुग्ने बताए।मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, रुपन्देही सभापति डिपि खनाल लगायतले बोल्दै लोकतन्त्रको रक्षाका लागी प्रेस स्वतन्त्रताको अर्को विकल्प नभएको बताए।