‘आखिर कोख एउटै हो, हामीले कर्म किन नगर्ने ?’

डी.आर. बन्जाडे
बुटवल । शरीरमा सेतो कपडा । टाउकोमा सेतै फेटा । आँखामा ठूलो चस्मा । झट्ट हेर्दा छोरा वा छोरी छुट्टाउन नसकिने । कुनामा टुकुरुस्सको बसाई । मुहारमा आफूले गरेको कर्म प्रति सन्तुष्टी । यो चित्र हो बाबुको किरियामा बसेकी बुटवल १३  बेलवास सुन्तलेचोककी २० बर्षीय नविना थापाको ।

छोरीले आफ्ना बुवाको निधनमा किरिया कर्म गरेर छोरा सरह छोरी हुन्छन् भन्ने उदाहरण पेश गरेकी छन् । अक्सफोर्ड कलेज बुटवलमा विविएस दोस्रो बर्षमा अध्ययनरत थापाले आफ्ना बुवाको निधनमा केश मुन्डन गरी किरिया गरेर कर्मले छोरीहरु सक्षम छन् भन्ने संदेश दिन खोजेकी छन् । उमेरले सानै भए पनि उनीमा कार्म प्रति प्रष्ट धारणा छ । ‘आखिर कोख एउटै हो । हामीले कर्म किन नगर्ने ?’ प्रति प्रश्न गर्छिन ।

बुवा ५० बर्षीय कृष्णराम थापाको भारतीय आर्मीमा काम गर्ने क्रममा निधन भयो । भारतको अरुणअन्चलको उच्च स्थानमा चाइना बर्डरमा काम गरिरहेको बेला अक्सिजन अभाव भई (हाईअल्टीच्युट सिकनेश) निधन भयो । निधनको खवर आउना साथ उनी आफै सहभागि भएर बुवालाई दागवत्ती समेत दिइन् । स्व. थापा भारतीय आर्मीमा हल्दारबाट पेन्सन आएका थिए । दोस्रो नेकरीका रुपमा डिएमसीमा खटिएका थिए ।

‘छोरा सरह छोरी हुन्छन्’
छोरा सरह छोरी हुन्छन् भन्ने मान्यता अनुसार नै आफूले कर्म गर्न तयार भएको उनी बताउँछन् । ‘बाबाले मलाई छोरो जस्तै मान्नुहुन्थ्यो । छोरी भए पनि के भो र हामी कर्म गर्न सक्षम छम’, उनले भनिन् ‘बुवालाई शान्ति हुन्छ भने हामी किन नगर्ने ?’

छारी कै इच्छा अनुसार किरिया कर्म गरिएको आमा जीत कुमारी थापा बताउँछिन् । उनले समाजले अझै पनि छोरीहरुले किरिया कर्म गर्न हुन्छ र सक्छन् भन्ने कुरालाई स्वीकार गर्न नसकेको बताइन् । ‘सुरु सुरुमा त छारीले किरिया गर्न हुँदैन की भन्नेहरु पनि हुनुहुन्थ्यो तर नानीले गर्छु भने पछि कर्म गर्न थालियो ।’–उनले भनिन् ।

पंडितले समेत कर्म गराउन मानेनन्
बुवाको मृत्युको पिडा छदैँ थियो । त्यसमाथि पन्डितहरुले समेत कर्म गराउन नमान्दा खिन्न लागेको उनी बताउँछन् । आफूले नै पुरै निष्ठा अनुसार कर्म गर्ने उनको इच्चा थियो । महिलाले गर्ने विधिका बारेमा सवै पंडितहरुमा ज्ञान नहुँदा समस्या भएको फुपाजु अमित रन्जन शर्मा बताउँछन् । ‘छोरीले गर्ने कर्म विधि नै फरक हुँदो रहेछ । सवै त्यसमा जानकार नहुनाले समस्या भएको हो ।’–उनले भने ।

समाजले छोरीले गर्ने कर्मलाई स्वीकार गर्नु पर्नेमा अंकल बलराम थापा सन्जुले बताउँछन् । कर्म गराउने गुरुहरुमा एक रुपता नभएको भन्दै उनले नेपाल पंचाञ्ग निर्णयक समितिले पनि त्यस तर्फ ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।