मंगलबार रातीदेखि मौन अबधी शुरु

बुटवल,बैशाख२७गते। यही बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि आज मंगलबार रातीदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइंदैन । चुनावी प्रचार–प्रचारका लागि आज रातीसम्म मात्रै बांकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् । यो पटक मतदाताको घरदैलोमा जाने समय कम भएको भन्दै अधिकांश ठूला पालिकाका प्रमुख तथा उपप्रमुखले सामुहिकरुपमा भेटघाटको कार्यक्रम बनाउन बाध्य भएका छन् । चोकचोकमा मतदातालाई जुटाएर आफ्ना प्रतिवद्धता सुनाउने मात्र काम भएको पालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुले बताएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा घरदैलो गर्ने कार्यक्रम धेरै भएकाले उम्मेदार तथा पार्टीको खर्च पनि बढी भएको थियो । अहिलेको चुनावमा समय अबधी कम भएकाले निर्वाचनमा खटिने कार्यकर्तालाई गर्नुपर्ने खर्च कमी भएको अनुमान गरिएको छ । यस्तै सरकारले आज मंगलबार रातीदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातदेखि सीमा नाका बन्द गर्न गृहमन्त्रालयले निर्देशन गरी सकेको छ ।