मेयर बालेनलाई श्रीमती सबिनाको पत्र

काठमाडौं, जेठ १३ गते। महानगरपालिकाको मेयरमा जितेका बालेन्द्र साह (बालेन)लाई बधाई दिनेको भीड लागेको छ । सामाजिक सञ्जालदेखि भेटेरै बालेनलाई बधाई दिनेहरुको भीडभाड छ । बधाई खाइरहेकै बेला बालेन शाहकी श्रीमती सविना काफ्लेले बधाई दिंदै लेखेको पत्रप्रति अहिले सबैको ध्यान गएको छ ।बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन । सबिनाले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् । उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ । तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् । घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् सवनाले लेखेको पत्रमा उल्लेख छ । अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ । घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई । सविना काफ्लेको पत्रबाट ।