नेकपा क्रान्तिकारी माओवादीद्वारा महङ्गी र भ्रष्टाचारको बिरोध

बुटवल, जेठ १८गते। नेकपा क्रान्तिकारी माओवादीले महङ्गी र भ्रष्टाचारको बिरोध गरेको छ। नेकपा क्रान्तिकारी माओवादीले बुधबार बुटवलमा कोणसभाको आयोजना गरी देशमा महङ्गी, भ्रष्टाचार, कालोबजारी र हिंसात्मक घटनाहरु मौलाउंदै गएको भन्दै त्यसको बिरोध गरेको हो । यो व्यवस्थाले जनताका आधारभूत समस्या पनि हल गर्न नसकेकाले यो व्यवस्थाबाट जनताको मुक्ति सम्भव नभएको उनीहरुको दावी छ । सो कोण सभामाा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य भुपेन्द्र न्यौपानेले व्यवस्था फेरिएपनि देश र जनताको अवस्था नफेरिएको बताए। उनले महङ्गी, भ्रष्टाचार, कालोबजारी र हत्याहिंसाका घटनाहरु दैनिक रुपमा बढ्दापनि यो सरकारले नियन्त्रण गर्न नसकेको बताए।जनताका आधारभुत समस्या पनि यो राज्यव्यवस्थाले समाधान गर्न नसकेको बताउंदै अहिलेको राज्य व्यवस्था जनताको हितमा नभएको दावी गरे । देशभक्त जनगणतान्त्रिक मोर्चाकी केन्द्रिय सदस्य लक्ष्मी चौलागाईले जनतालाई मारपर्ने गरी भएको महङ्गी, भ्रष्टाचारको अन्त्य र महिला हिंसाका घटनाहरु निरुत्साहित नहुंदासम्म आन्दोलन जारी राखिने बताए। राष्ट्रिय स्वाधिनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्कीले राष्ट्रघात, महङ्गी र भ्रष्टाचार मौलाउंदा आम नेपाली जनता मारमा परेको बताए।एमसीसी परियोजनाले नेपालको राष्ट्रियता झनै कमजोर भएकाले देशमा नागरिकस्तरबाट आन्दोलन उठान गर्नुको विकल्प नभएको बताए। राजु भुजेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।