भैरहवा–परासी सडक खण्डमा बस दुर्घटना परी नौ जनाको मृत्यु

बुटवल,जेठ २२ गते ।रुपन्देहीको भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणीमा भएको यात्रुबाहक वस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस दुर्घटनामा २४ जना घाइते भएका छन् । आइतबार बिहान बस रोहिणी पुलबाट नदीमा खसेको थियो ।दुर्घटनामा परी घाइते भएकाहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।दुर्घटनामा परी मृत्यु हुनेहरुमा रुपन्देही ओमसतिया ४ बस्ने बर्ष ६५ को राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका बस्ने वर्ष ३७ की तुल्सी बस्याल, रुपन्देही तिलोत्तमा २ योगिकुटी बस्ने वर्ष ५६ को बिष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुर बस्ने बर्ष २० का दिनेश दास, बुटवल उपमहानगरपालिका–११, कालिकानगर बस्ने बर्ष ४८ का कृष्णप्रसाद बस्याल, भारत जनकपुरग्राम बस्ने बर्ष ४० का अरबिन्द्र शर्माको सनाखत खुलेको छ ।मृतक मध्ये अन्य तीनजना पुरुषको परिचय खुल्न सकेको छैन । बसका दुर्घटनामा परी २४ जना घाइते भएका छन् । घाईतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भैरहेको छ ।