नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडेयन्त्र – मसाल

बुटवल,जेठ३१गते। नेपाल कम्युनिष्ट पार्टी(मसाल) ले नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडयन्त्र भएको बताएको छ । अमेरिकी षडेयन्त्रका विरुद्ध कडा आवाज उठाउन नेकपा मसालले आह्वान गरेको छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती जारी गरी अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई स्वीकार गर्न नेपालमाथि दबाब दिइरहेको बताउंदै अमेरिकारको दवाव स्वीकार गर्न नहुने बताएका छन् ।
‘एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो । त्यसलाई स्वीकार गरेपछि नेपाल प्रत्यक्ष रूपले नै इन्डोप्यासिफिक रणनीतिमा सामेल हुनेछ’ वक्तव्यमा भनिएको छ, ‘त्यसको परिणामस्वरुप नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र नेपाल पूरै नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनेछ ।’ मसालले अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो सैनिक क्याम्पमा लैजानका लागि लगातार बढाउँदै लगिरहेको गतिविधिलाई गम्भीर रूपमा लिँदै त्यसका विरुद्ध कडा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । सुरुका दिनदेखि न नकेपा मसालले एमसीसीको बिरोध गर्दै आएको छ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्ती ।
‘संसदले एमसीसी सम्झौता पारित गरेपछि अमेरिकाले नेपाललाई क्रमशः आफ्नो सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न बढाउँदै लगेको देखिन्छ । त्यसका लागि अमेरिकी उच्च वा सैनिक अधिकारीहरुले बारम्बार नेपालमा भ्रमण गरेर सरकारमाथि त्यसका लागि दबाब दिन थालेका छन् । त्यसबाट एमसीसी को मुख्य उद्देश्य नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजानु नै हो भन्ने कुरा झन् पछि झन् छर्लग हुँदै गइरहेको छ ।

संसदले एमसीसी पारित गरेको लगत्तै अमेरिकाले आफ्ना तिब्बत मामिला हेर्ने प्रमुखलाई नेपाल पठाएको थियो । उनले देहराधुन गएर दलाई लामालाई भेटेकी थिइन् र काठमाडौ आएर तिब्बती शरनार्थी नेताहरूलाई भेटेकी थिइन् । उनको त्यो भ्रमणको उद्देश्य नेपाल सरकारको तिब्बत सम्बन्धी असंलग्न परराष्ट्र नीतिमा परिवर्तन गरेर नेपाललाई अमेरिकाको तिब्बती सम्बन्धी साम्राज्यवादी नीतिका पक्षमा लैजानु नै थियो । हाम्रो पार्टीले त्यो बेला नै त्यसको विरोध गरेको थियो ।
अहिले यू.एस. आर्मी प्यासिफिकका कमाण्डरले पनि नेपाललाई अमेरिकाको सैनिक रणनीतिको पक्षमा लैजान नै नेपालको भ्रमण गरेका छन् । अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई स्वीकार गर्न नेपालमाथि दबाब दिइरहेको छ । सन् २०१५ मा अमेरिकी सेनाले त्यो प्रस्ताव नेपाललाई पठाएको थियो । नेपाल सरकारले त्यसको कुनै जवाफ नदिएपछि सन् २०१९ सालमा ओली सरकारको पालामा अमेरिकाले त्यसका लागि पुनः ताकेता गरेको थियो ।

महिना पहिले त्यो प्रस्तावमा केही परिमार्जन गरेर त्यसको मस्यौदा अमेरिकाले नेपाल सरकारलाई पठाएको छ र त्यसलाई स्वीकार गर्न दबाब दिइरहेको छ ।
एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो । त्यसलाई स्वीकार गरेपछि नेपाल प्रत्यक्ष रूपले नै इन्डोप्यासिफिक रणनीतिमा सामेल हुनु हुनेछ । त्यसको परिणामस्वरुप नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र नेपाल पूरै नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनेछ । अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो सैनिक क्याम्पमा लैजानका लागि लगातार बढाउँदै लगिरहेको गतिविधिलाई नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले गम्भीर रूपमा लिन्छ र त्यसका विरुद्ध कडा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।’ २०७९ जेष्ठ ३० गते ।
मोहनविक्रम सिंह
महामन्त्री