भैरहवाको बालसुधार गृहमा झडप, प्रहरीमाथि हातपात

प्रकाश न्यौपाने

भैरहवा,असार७गते।रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बालसुधार गृहमा रहेका केही किशोरहरुलाई स्थानान्तरण गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका छन्। स्थानान्तरणको विरोध गरिरहेका उनीहरुको हातपातबाट रुपन्देहीका डीएसपी नवरत्न पौडेल र टोपबहादुर मगर घाइते भएका छन् ।मंगलबार केही किशोरलाई स्थानान्तरका लागि तयारी गरिएको थियो। त्यसपछि आक्रोशित किशोरहरुले सुधारगृहको भवनको सिसा तोडफोड गर्ने, चक्कु समाएर घांटी रेटेर मर्छौ भन्ने, विभिन्न सामाग्रीले सुरक्षाकर्मीलाई प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए। किताब र सिरक डसनामा आगो समेत लगाएका थिए। उनीहरुले होहल्ला गरेर तोडफोड र आक्रमणमा उत्रिएपछि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो। दिनभर तनाव भएको थियो। यसअघि गत बैशाखमा पनि उनीहरुले तोडफोड गर्दा सुधार गृहमा करिब एक लाख बराबरको क्षति भएको सुधारगृह प्रमुख शुभद्रा गौतमले जानकारी दिए। किशोरहरु निरन्तर होहल्ला गर्दै आक्रोशित भएपछि सुरक्षाकर्मीले अन्य कुनै घटना नहोस् भनेर संयमता अनाएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरीको लामो प्रयास पछि आक्रोशित किशोरहरुलाई नियन्त्रणमा राख्न सुरक्षाकर्मी सफल भएका थिए। किशोरहरुले झ्यालबाट सुधारगृहको छेउको बाटोबाट हिंडडुल गर्ने महिलाहरुलाई जिस्क्याउने,फोहोर शब्दको प्रयोग गर्ने गर्दै आएका थिए। यसबाट आजीत भएका स्थानीयले मंगलबार मात्रै जिल्ला प्रशसन कार्यालयमा पुगेर सुधारगृह स्थानान्तरण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए। भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको थियो।पटक–पटकको घटनापछि सुधार गृहबाट केही किशोरहरुलाई स्थानान्तरण गरिएकोे। सुधारगृह प्रमुख गौतमका अनुसार १७ जना किशोरलाई नेपालगञ्ज, भक्तपुर र पोखरा स्थानान्तरण गरिएको छ। ६० जना क्षमता रहेको सुधारगृहमा १ सय १० जनालाई राखिएको थियो।