विशेष महत्वका साथ मनाईयो धान दिवस

बुटवल, असार १५ गते। आज असार १५ १९ औं धान दिवस। विशेष महत्वका साथ आज असार १५ नेपालमा १९ औं राष्ट्रिय धान दिवस मनाईएको छ। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाईयो। यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाईएको हो। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसानले वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजको दिन असारे भाकामा गीत गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। ‘छुपुमा, छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्। दही चिउरा खाएर मनाउने असार १५ नेपालमा पर्वको रुपमा स्थापित भएको छ ।

   

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनन’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।
बुटवल उपमहानगरपालिकाले मनायो धान दिवस
बुटवल उपमहानगरपालिकाले धानदिवसको अवसरमा खेतमा रोपाई गरी धान दिवस मनाएको छ। उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्षसहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र किसानसहित बुटवल १९ कातिलक थारुको खेतमा रोपाई गरिएको हो। रोपाई कार्यक्रम अघि आयोजित कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्वता जनाएका छन् ।कृषिजन्य उत्पादनसहित तरकारी, फलफूल भैरहवा विमानस्थलबाट विदेश निर्यात गर्नेगरी कृषि उत्पादनमा जोड दिनुपर्ने बताए।