खेतवारी जोत्नका लागि हाते ट्याक्टर प्रयोग

प्रविधिमैत्री बन्दै किसान

बुटवल,असार२०गते। पहिला–पहिला गोरु र पाडाको भरमा खेती गर्ने किसानले अहिले नयां प्रविधिको प्रयोगबाट खेती गर्न थालेका छन् । पहाडी क्षेत्रमा गोरु र तराई क्षेत्रमा गोरु, पाडाले जोतेर खेतीपाती गर्ने किसानले नयां प्रविधिको प्रयोगबाट जोतेर खेती गर्न थालेका छन् । खेतवारी जोत्नका लागि गोरु र पाडाको भरपर्ने किसानहरु अहिले नयां प्रविधि आएपछि हाते ट्याक्टर प्रयोग गर्न थालेका छन् ।समयको माग अनुसार प्रविधिको विकाससंगै छिटोछरितो खेतीका लागि जोत्ने प्रयोजनका लागि नेपालमा हाते ट्याक्टर भित्रिएपछि केही वर्ष यतादेखि किसानहरुले हाते ट्याक्टरको माध्यमबाट जोत्न थालेका हुन् । पछिल्ला वर्षहरुमा पहाड र तराईमा गोरुले जोतेर खेती गर्ने किसान न्यून संख्यामा देखिन थालेका छन् । रोजगारीका लागि किसानका छोराहरु बिदेशीएपछि घरमा गोरु र पाडा पाल्ने मान्छे नभएकाले पनि हाते ट्याक्टरको बढी प्रयोग गर्न थालिएको फर्साटिकरका कृषक टिकाराम अधिकारीले बताए।पहाडी क्षेत्रबाट पछिल्ला वर्षहरुमा तराई र शहरमा बसाई हुंदा र बसाईसराई सर्न नसकेकाहरु बैदेशीक रोजगारीमा गएकाले गांउमा गाईगोरु पाल्ने मान्छे नभएका कारण हाते ट्याक्टरको बढी प्रयोग गर्न थालिएको हो। गोरु र पाडा पालेर जोतेर खेती गर्नुभन्दा हाते ट्याक्टरले जोत्न सस्तो पर्ने भएकाले पनि किसानहरु हाते ट्याक्टरप्रति बढी आर्कषित भएका हुन्। त्यस्तै देशका सबै स्थानीय सरकारले कृषिलाई बढी प्राथमिकता दिएपछि अनुदान र सहुलियतपूर्ण ऋणमा हाते ट्याक्टर पाइने भएपछि पनि किसानहरु हाते ट्याक्टरप्रति आर्कषित भएको जानकारहरुको भनाइ छ ।स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले कृषिलाई बढी प्राथमिकता दिएकार कृषि औजार उपलब्ध गराएपनि अहिले पेट्रोलियम पदार्थमा मुल्यवृद्वि भएपछि आधुनिक प्रविधिको प्रयोग गर्न थालेका किसानहरु निरास बनेका छन् ।