रुपन्देहीका ३७ रक्तदाता संस्था सम्मानित

बुटवल, साउन १२ गते। रुपन्देहीका ३७ वटा रक्तदाता संस्थाहरुलाई बुटवलमा सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले ५६ औं रक्तदाता दिवसको अवसरमा रक्तदाता संस्थाहरुलाई सम्मान गरेको । ५६ औं रक्तदाता दिवसको बिहीबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरी १ सय बढी युनिट रगत संकलन गर्ने रक्तदाता संस्थाहरुलाई सम्मान गरिएको हो ।सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले नीजि र सामूदायिक अस्पतालका बिरामहरुलाई पनि रगत निःशुल्क गराउनु पर्ने बताएका छन् । उनले राज्यले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउनु पर्ने बताउंदै नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भीर रहेको दावीसमेत गरेका छन् । उनले नीजि अस्पतालहरुले बढी मुनाफा लिएर सेवा दिएको बताउंदै जनताको स्वास्थ्यलाई ख्याल गरेर सेवा दिन आग्रह गरे ।      रगत वितरणमा एकरुपता ल्याउनु पर्ने र त्यसका लागि ब्लड बैंकहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। रक्त सञ्चार सेवा केन्द्र बुटवलकी निमित् सदस्यसचिव राधा ज्ञवाली शर्माले सेवा केन्द्रले वार्षिक रुपमा दिएका सेवाबारे जानकारी गराइन । आर्थिक वर्ष २०७८।०७९ को एक वर्षमा बुटवलमा २१ हजार ७ सय ९ युनिट र सिद्वार्थ नगरमा ६ हजार ८ सय ३४ युनिट रगत संकलन भएको जानकारी गराइन । रेडक्रस रुपन्देहीका सभापति पे्रमलाल उदासको अध्यक्षता र मन्त्री आर मोहम्मद खांको सञ्चालनमा भएको कार्यक्रममा बोल्ने रक्तदाताहरुले सबै नागरिकले सहज रुपमा रगत पाउने व्यवस्था मिलाउन तिनै तहका सरकारसंग माग गरेका छन् ।कार्यक्रममा रेडक्रस रुपन्देहीका सदस्य सुशील गुरुङ, दया शिलवाल, कृष्ण चौहान लगायतले रगत नपाए बुटवल जाउ भन्ने अभियानलाई सार्थकता बनाउन सबैको साथ सहयोग आवश्यक पर्ने बताए।