राष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंशा

बुटवल, साउन ३० गते । विवादित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेपछि राष्ट्रपतिको चौतर्फी प्रसंशा भएको छ ।
गैरनेपालीलाई नेपाली नागरिकता पाउन सजिलो हुने गरी संसदबाट पास भएको नागरिकता विद्येयक राष्ट्रपतिले फर्कादिएपछि अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको देश, विदेशका नेपालीले राष्ट्रपतिको प्रशंसा गरेका छन् । एमाले नबोलेपनि राष्ट्रपतिले राष्ट्रियताको पक्षमा काम गरेर इतिहांस रचेको भन्दै सामाजिक सञ्जालहरुबाट राष्ट्रपतिको प्रशंसा गर्दै बधाइ दिनेहरुको ठूलो भिड छ ।
विवादबीच संसदका दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतबार फिर्ता गर्नुभएको हो ।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक राष्ट्रपतिको कार्यालयले आइतवार फिर्ता पठाइदिएको हो।
राष्ट्रपतिको कार्यालयले विधेयकको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक रहेकोले फिर्ता पठाइएको उल्लेख गरेको छ।
‘नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत साउन १५ संघीय संसदका दुवै सदनले यो विधेयक पारित गरेको थियो। त्यसपछि सभामुख सापकोटाले विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो ।
कुनै पनि विधेयक संसदबाट आएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण वा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ। यही प्रावधान अनुसार पुनर्विचारका लागि राष्ट्रपतिको कार्यालयले नागरिकता विधेयक फिर्ता पठाइदिएको हो।
‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको पन्ध्र दिनभित्र निजले सन्देशसहित विधेयक उत्पति भएको सदनमा फिर्ता पठाउनेछ,’ संविधानको धारा ११३ (२) मा भनिएको छ।