बुटवलका अग्रज पत्रकार पोखरलको मृत्यु

बुटवल, साउन ३१ गते। लामो समयदेखि पत्रकारिता गर्दै आएका बुटवलका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । पे्रस सेनानीसमेत रहेका बरिष्ठ पत्रकार वसन्त पोखरेलको ६८ वर्षको उमेरमा यही साउन ३१ गते मंगलबार बिहान निधन भएको हो ।प्यूठानको प्यूठान नगरपालिका वडा नम्बर १ दाखाक्वाडीमा २०११ साल भदौ ५ गते जन्मेका पत्रकार पोखरेलको बुटवलस्थित बेलवासमा रहेको आफ्नै निवासमा मृत्यु भएको हो ।

२०३२ सालदेखि लेखन कार्यमा लागेका पत्रकार पोखरेलले २०३५ सालबाट पत्रकारितालाई मुल पेशा बनाएर निरन्तर रुपमा काम गर्दै आएका थिए ।हाल बुटवलबाट प्रकाशित हुने बुटवटुडे राष्ट्रिय दैनिकका सम्पादक सल्लाहाकारको रुपमा कार्यरत थिए । स्व. पत्रकार वसन्त पोखरेका भाई लोकराज पोखरेलका अनुसार वसन्त पोखरेलले काठमाण्डौबाट पत्रकारिता शुरु गरेका थिए ।

पत्रकारिताको माध्यामबाट कम्युनिष्ट आन्दोलनलाई सहयोग पुराएका पत्रकार पोखरेलले कम्युनिष्ट आन्दोलन भित्रको माओवादी आन्दोलनलाई लेखनको माध्यामबाट सहयोग गर्दै आएका थिए । तर पछिल्लो समयमा भने उनी कुनै पनि पार्टीसंग आवद्वता थिएनन् ।

सामाजिक रुपान्तरण र परिवर्तनका पक्षमा कलम चलाउएकै कारण उनी प्रहरी हिरासतमा १८ दिनसम्म बसेका थिए ।एकै दिनमा फरक–फरक शिर्षकमा फरक– फरक नाममा आर्टीकल र सम्पादकीय लेखेर आफ्नो लेखनको माध्यामबाट अब्बल पत्रकारको रुपमा चिनिएका उनले व्याङेत्मक लेखनका लेखक पनि हुन् ।

व्याङेत्मक लेखनका उनी धरोहर नै मानिने स्व. पत्रकार वसन्त पोखरेलले यस क्षेत्रका दर्जन बढी पत्रिकाहरुमा समाचारका साथै सम्पादकीय लेखेका छन् । उनले विचार, लुम्बिनी दूत, दैनिक निर्णय, जनादेश, नयांदिशा, दैनिक लुम्बिनी, भावना दैनिक, दैनिकपत्र, जनसंघर्ष, सूचना, ज्वाला, लालकलम जस्ता पत्रपत्रिकामा संवाददाता र सम्पादकीय भूमिकामा रहेर काम गरेका थिए ।

मृत्यु हुनुको अघिल्लो दिनसम्म पनि उनी श्रमजीवी भएर पत्रकारिता गरेका स्व. वसन्त पोखरेल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षसमेत बनेका थिए ।सादा जीवन उच्च विचार र व्यवहारमा धनी पोखरेलले जीवनभर लेखेर नै वीवीका चलाएका थिए ।  स्व. पत्रकार पोखरेलको मंगलबार दिउंसो बुटवलको मैनानगरको स्थानीय घाटमा सामाजिक संस्कार अनुसार अन्तिम दाहासंस्कार गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाईमा महासंघको झण्डा ओडाई अन्तिम दाहासंस्कार गरिएको हो ।

महासंघले आयोजना गरेको श्रदाञ्जली सभामा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेले स्व. पत्रकार वसन्त पोखरेलको जीवनीबारे प्रष्टाउंदै वसन्त पोखरेलको निधनले नेपाली पत्रकारिता र कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षती पुगेको बताए ।

महासंघ रुपन्देहीका सचिव विनोद परियारको सञ्चालनमा भएको श्रदाञ्जली समाभा बोल्दे पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले वसन्त पोखरेलको लेखनशैली पत्रकारिताको क्षेत्रमा भुल्न नसकिने बताउंदै पत्रकारितामा पुराएको योगदानको उच्च सम्मान गरिनु पर्नेमा जोड दिए । स्व. पत्रकार वसन्त पोखरेलका श्रीमती माधवी पोखरेल, छोराहरु प्रवाश पोखरेल, प्रशान्त पोखरेल र छोरी सुनगाभा पोखरेल छन् ।

स्व. पत्रकार वसन्त पोखरेलको निधनप्रति दुःख प्रकट गर्दै पत्रकार महासंघ रुपनदेही, पत्रकारहरुसंग सम्बन्धित संघसंस्थाहरुले श्रदाञ्जली अर्पण गरेका छन् ।प्रगतिशील पत्रकार संघ, नेपाल, पे्रस चौतारी, पे्रस युनियन, पे्रस सेन्टर लगायतले श्रदाञ्जली अर्पण गरेका छन् ।