प्यूठान–रुपन्देही सम्पर्क मञ्चद्वारा ५९ युनिट रगत संकलन

बुटवल, भदौ १२ गते ।प्यूठान– रुपन्देही सम्पर्क मञ्चले आइतबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । नियमित कार्यक्रम अनुसार आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
उक्त रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको सचिव प्रदीप जीसीले जानकारी गराउनु भयो ।
उक्त रक्तदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले सामाजिक तथा मानवीय काममा दलीय राजनीति गर्न नहुने बताए।
प्यूठान रुपन्देही सम्पर्क मञ्चले स्वास्थ्यको क्षेत्रमा प्यूठानवासीका लागि प्रशंसनीय काम गरेको बताउदै जिल्लाको विकास र जनतालाई सहयोग गर्ने विषयमा दलीय स्वार्थ भन्दामाथि उठ्न आवश्यक रहेको मन्त्री खड्काले बताए ।
सम्पर्क मञ्चले जिल्लावासीको सहयोगका लागि स्थापना गर्न लागेको स्वास्थ्य अक्ष्य कोषका लागि सहयोग गर्ने प्रतिवद्वता जनाउंदै भने – बुटवलमा प्यूठान रुपन्देही सम्पर्क मञ्चले गर्दै आएका कामहरु लोकप्रीय छन् । जुन कामहरुलाई जिल्लावासीले आत्मसाथ गरेर एक आपसमा थप सम्बनध विस्तार गर्न आवश्यक छ ।
पत्रकार महासंघ रुपन्देही अध्यक्ष तथा सम्पर्क मञ्चका संस्थापक सचिव रामराज पोखरेलले मानवीय सेवा र आपसी सद्भाव कायम गर्नका लागि सम्पर्क मञ्चले उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको बताए । उनले सम्पर्क मञ्चले गर्ने हरेक कार्यक्रमलाई साथ सहयोग दिन आग्रह गरे ।
सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलले प्यूठान रुपन्देही सम्पर्क मञ्चलाई दलीय राजनीति भन्दा अलग राखेर प्यूठानीहरुको साझा संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
  स्वास्थ्य उपचार गर्न नसकेका गरिब तथा निमुखाहरुलाई सहयोग गर्ने उद्वेश्यले स्थापना गर्न लागिएको स्वास्थ्य अक्ष्य कोषका लागि ३लाख संकलन भएको अध्यक्ष पोखरेलले जानकारी गराए ।
मञ्चका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष पदमप्रताप जीसीको स्वागत र सचिव प्रदीप जीसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्यूठानको विभिन्न ठाउंबाट अस्थायी वा स्थायी रुपमा रुपन्देहीमा वासोवास गर्दै आएका प्यूठानीहरुका लागि साझा संस्था बनाउने उद्वेश्यले प्यूठान रुपन्देही सम्पर्क मञ्च २०५९ सालमा विधिवत रुपमा दर्ता भएको आधिकारिक सामाजिक संस्था हो ।
प्यूठानीहरुको २०५८ साल भएको प्रतिनिधिमूलक भेलाको योजना अनुसार २०५९ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्यूठान रुपन्देही सम्पर्क मञ्च दर्ता भएको नितान्त सामाजिक संस्था हो ।
यो संस्था स्थापना भएपछि यही संस्थाको पहलमा बुटवलबाट प्यूठानको मच्छी, ठुलावेसी, बाहाने लगायतका ठाउंमा बस सेवा सञ्चालन भएको हो ।
प्यूठानमा रहात बाड्नुका साथै जिल्लाबाट उपचार गराउन बुटवल आएर आर्थिक अवस्था कमजोर भएका सयौ मानिसलाई आर्थिक, भौतिक र नैतिक रुपले सहयोग गरेको छ, प्यूठान रुपन्देही सम्पर्क मञ्चले ।