पुनर कर्जाबाट बन्चित हुनु परेको व्यवसायीको गुनासो

श्यामलाल पोखरेल

बुटवल, माघ ६ । होटल तथा पर्यटन व्यवसायिका समस्या र समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजना, नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष र पर्यटन व्यवसायीहरुको सहभागितामा मंगलबार बुटवलमा छलफल भएको हो । सोही छलफल तथा अन्तरक्रियामा बोल्ने होटल तथा पर्यटन व्यवसायीले सरकारले उपलब्ध गराउन निर्देशन गरेको पुनर कर्जाबाट बन्चित हुनु परेको गुनासो गरेका छन् ।

पहुंचमा रहेकाले मात्र सरकारी सेवासुविधा ल्याएका र सर्वसाधारण स्वरोजगार व्यवसायीको पहुंच नहुंदा बन्चित हुनुपरेको गुनासो गरे । कोराना भाइरसका कारण पर्यटन व्यवसायीले घरवाहल र बैंकको व्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको बताए । पर्यटन व्यवसायी राज्यको पहुंचमा नभएको गुनासो गर्दै आन्तरिक पर्यटन प्रवद्र्वन र विकासका लागि गम्भीर बन्न राज्यसंग माग गरे । राज्य सकरात्मक भएमा होटल तथा पर्यटन व्यवसायिका समस्या निराकरण हुनै बताउंदै उनीहरुले रात्रीकालिन व्यवसाय सञ्चालनको वातावरण मिलाई दिनुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डक लुम्बिनी प्रदेशका प्रमुख लिलाबहादुर बानियाले आन्तरिक रुपमा पर्यटनलाई व्यवस्थापन गर्न सकिएमा राज्यलाई फाइदा हुने पर्यटन व्यवसायीको व्यवसायमा सुधार आउने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि विकेन्द्रिकण हुनुपर्ने र पर्यटन प्रवद्र्वनमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो । उहांले यस क्षेत्रको पर्यटनलाई विकास र व्यवस्थितका लागि आगमी असोजदेखि नेपाल पर्यटन बोर्डको लुम्बिनी प्रदेश कार्यालय स्थापना गरिने जानकारी गराउनुभयो । संस्कृति तथा पर्यटन मन्त्रालयमा रहेको ३० करोड वजेट उसै क्षेत्रको पर्यटनको विकासका लागि ल्याउनका लागि पहल भैरहेकोसमेत जानकारी गराउनुभयो ।

नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले पर्यटन व्यवसायिका समस्याप्रति राज्यसंग पहल गरेर व्यवसायीलाई सेवासुविधा उपलब्ध गराउने प्रतिवद्वता जनाउनुभयो । कोरोनाका कारण नेपाल– भारतको सीमा पूर्णरुपमा सुचारु पर्यटन व्यवसायी मारमा परेको बताउंदै आन्तरिक पर्यटनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

होटल व्यवसायी महासंघका संस्थापक सचिव माधव नेपालले रुपन्देहीमा आउने आन्तरिक र बाह्य पर्यटकलाई बसाल्न सक्ने गरी व्यवसाय सुचारु गर्नुपर्नेमा जोड दिनुभयो ।

होटल तथा रेष्टेरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जीसीले पर्यटन व्यवसाय सेवामूलक व्यवसाय भएकाले रातिमा पनि व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताउनुभयो । कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, प्रदेश सदस्य रामप्रसाद गौतम, पर्यटन व्यवसायी द्वितिय उपाध्यक्ष रमाकान्त पाण्डे, महासचिव माधवकुमार खनाल, सचिव मोहन पाण्डे, खुमानन्द गिरी लगायतले आआफ्ना भनाइ राख्नुभएको थियो ।

समुन्द्र जीसीको अध्यक्षता र माधवकुमार खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।