नवजागृति पुस्तकालयद्वारा साहित्य स्रष्टा सम्मान

बुटवल, भदौ १५ गते। युवाकवि मोतिराम भट्टको १५७ औं जन्मजयन्ती र १५ औं पुस्तकालय दिवसको अवसर पारेर बुटवलमा साहित्य स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । विश्व हिन्दु महासंघ रुपन्देहीको मातहतमा सञ्चालित नवजागृति पुस्तकालयले बुधबार बुटवलमा कवि मोतिराम भट्टको जन्मजयन्ती र पुस्तकालय दिवसको अवसरमा साहित्य स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेको हो ।
  स्रष्टा बिजु पछाई खातीलाई नगदसहित नवजागृति पुस्तकालयले स्थापना गरेको मोतिराम भट्ट साहित्य पुरस्कारबाट नगदसहित पुरस्कृत तथा सम्मान गरिएको हो । त्यस्तै उपप्राध्यापक हेम भण्डारीलाई खादा ओढाएर सम्मान गरिएको हो ।
          कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता बेनबहादुर पौडेलले दुवै जना स्रष्टाहरुलाई सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता बेनबहादुर पौडेलले नेपाली साहित्यको संरक्षणका लागि साहित्यकारहरुको मननोवल उच्च बनाउनु पर्ने बताए ।
साहित्य, कला र संस्कृति नेपालको सम्पति भएकाले साहित्य क्षेत्रमा लागेका स्रष्टाहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवाली, प्राध्यापक डाक्टर बाबुराम ज्ञवाली, साहित्य स्रष्टा तथा सम्मानित व्यक्तित्व बिजु पछाई खाती, उपप्राध्यापक हेम भण्डारी लगायतले स्व. कवि मोतिराम भट्टको जीवनी र मोतिराम भट्टले नेपाली साहित्यमा पुराएको योगदानबारे चर्चा गरेका थिए ।
त्यस्तै जनप्रतिनिधि रुणकुमार श्रेष्ठ, तेजनीधि शर्मा, कृष्णप्रसाद कोइराला लगायतले बोल्दै आआफ्ना भनाइ राखेका थिए ।
विश्व हिन्दु महासंघ रुपन्देही, नव जागृति बहुउद्वेश्यीय सामाजिक भवन ट्रष्ट, श्रीसिद्वावावा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्वाश्रम र नव जागृति पुस्तकालयको संयुक्त बैठक पनि बुधबार सम्पन्न भएको छ ।
विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षता र उर्मीला श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको हो ।