बुटवलमा रात्रीकालिन बजार सञ्चालनका लागि सुरक्षाको अभाव – व्यवसायी

बुटव, भदौ २० गते ।बुटवलमा रात्रीकालिन व्यवसाय तथा बजार सञ्चालनका लागि शान्ति सुरक्षाको ज्ञारण्टी र सडक बत्तिको व्यवस्था राज्यले गर्नुपर्ने सरोकारवालाहरुको माग छ ।
समयको माग अनुसार बुटवलमा रात्रीकालिन व्यवसाय तथा बजार सञ्चालनका लागि सुरक्षा नहुंदा र सडक बत्तिको अभावले समस्या भएको उनीहरुको भनाइ छ ।
बुटवल उद्योग वाणिज्य संघले सोमबार बुटवलमा आयोजना गरेको रात्रीकालिन बजार तथा घरवहाल विषयक अन्तरक्रियामा बोल्ने सरोकारवालाले व्यवसायीका समस्या राज्यले बुझ्न नसकेको व्यवसायी संघसस्थाका प्रतिनिधिहरुले गुनासो गरेका छन् ।
बुटवलका घरधनीहरुले मनोमानी ढंगले घरभाडा वृद्विगर्दा व्यवसायी समस्यामा परेको उनीहरुको भनाइ छ । व्यवसायीका समस्याप्रति तिनै तहका सरकारलाई गम्भीर बन्न व्यवसायीले आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले कोभिडका कारण धरासायी भएका व्यवसायीलाई माथि उठाउनका लागि रात्रीकालिन व्यवसाय चलाउनु पर्नेमा जोड दिए। कमजोर भएको अर्थतन्त्रलाई चलायमान बनाउन पनि अब बुटवलमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्नुपर्ने उनले बताए ।
बुटवल वडा नम्बर ९ का अध्यक्ष प्रदीप श्रेष्ठ र वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलमा रात्रीकालिन बजार सञ्चालनका लागि शान्ति सुरक्षाका साथै सडक बत्ति, सिसिटी क्यामरा जडान र पार्किङको व्यवस्था मिलाउन पहल गर्ने समूहिक रुपमा प्रतिवद्वता जनाएका छन् ।
घरवाला सरोकार संघ बुटवलका अध्यक्ष राजु लिगलले घरधनीहरुको मनोमानीले गर्दा वयवसायी मारमा परेको बताउंदै त्यस विषयमा कसैको ध्यान पुग्न नसकेको गुनासो गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधवप्रसाद खनालले सरकारले शान्ति सुरक्षा र सडक बत्तिको ज्ञयारण्टी नर्गदासम्म रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नसकिने बताउंदै घरवाल ऐन बाधक रहेकाले संशोधन गर्न माग गरेका छन् ।
कार्यक्रमका संयोजक प्रतिक पोखरेलले रात्रीकालिन बजार सञ्चालनका लागि प्रशासनले मापदण्ड बनाएको र उक्त मापदण्ड सरोकारवाला सबैले अध्ययन गरेर आवश्यक अनुसार मापदण्ड बनाएर सबैको सहमतिमा रात्रीकालिन बजार सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा होटल तथा रेष्टुरेण्ट रुपनदेहीका अध्यक्ष रामप्रसाद गौतम, रुपन्देही व्यापार संघका उपाध्यक्ष प्रकाश ढकाल, पर्यटन व्यवसायी माधव नेपाल, विमल भट्टराई लगायतले रात्रीकालिन बजार तथा व्यवसाय सञ्चालनबारे आआफ्ना धारणा राखेका थिए ।