बुटवलको तीनाउ नदीमा बन्ने पुलबारे छलफल

बुटवल, भदौ २९ गते । बुटवलको तीनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाईनबारे छलफल गरिएको छ । आधुनिक पुलको डिजाइन तयार पारेका नेपाली र विदेशी इन्जिनियरहरुले बुटवलका जनप्रतिनिधिसंग छलफल गरेका हुन् ।
बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासंग पुलको आर्किटेक डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका छन् । चिनियां, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसंगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ ।
डिजाइनअनुसार पुल निर्माणको प्रक्रिया अघि बढाउनका लागि बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणका लागि उपमहानगरको तर्फबाट सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताबारे जानकारी गराइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताएका छन् ।
पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निणर्य गर्ने जानकारी गराएको नगर प्रमुख पाण्डेयले बताए ।
छलफलका क्रममा विश्व बैंककी दक्षिण एशिया शहरी विकास इकाईकी वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्लीले तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरुसंग जोडिएकाले यसले स्थानीय र स्थानीय सरकारलाई लाभ दिने बताइन ।
ऐतिहासिक र पर्यटकीय स्थलहरु जितगढी किल्ला र युद्ध संग्रहालयमा पर्यटक आउनका लागि पुलले सहयोग पुराउने उनले बताइन ।
छलफलमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, विश्व बैंकका प्रतिनिधि सञ्जय सक्सेना, परामर्शदाता,सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर होम बहादुर एसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु र वडाध्यक्षहरुको सहभागितामा छलफल भएको हो ।
सिग्नेचर पुलका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ ।