संविधान दिवस मनाउने लुम्बिनी प्रदेशको तयारी

बुटवल, भदौ ३१ गते । लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी सातौ संविधान दिवस मनाउने तयारी गरेको छ ।प्रदेश सरकारले तीन दिवशीय कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागेको जानकारी गराएको छ ।
असोज २,३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले संविधान दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
मन्त्री तथा प्रवत्ता तिलकराम शर्माका अनुसार तीन दिवशीय कार्यक्रम अन्र्तगत पहिलो दिन असोज २ गते सरसफाई गर्ने, सरकारी कार्यालयहरुमा झण्डा फहराउने, दीपावली गरिने छ । तीन गते दोस्रो दिन बुटवलको राजमार्ग चौराहाबाट प्रभातफेरी निकालीने छ ।
प्रभातफेरीपछि बुटवल मण्डपमा बनेको बुटवल सभाहलमा मूल समारोहको आयोजना गरिने छ । त्यस्तै ४ गते लुम्बिनी प्रादेशीक अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको छ ।
बुटवल सभाहल सञ्चालनका लागि अझै मोडालिटी तयार नभएकाले संघीय सरकारसंग सहकार्य गरी मूल समारोहको आयोजना गर्ने निर्णय भएको मन्त्री तथा प्रवक्ता तिलकराम शर्माले जानकारी गराए ।बुटवल सभाहलमा कार्यक्रम गर्नका लागि व्यवहारिक कठिनाई भएपनि सरसफाईदेखि अन्य खर्च प्रदेश सरकारले व्यहोर्ने गरी संघीय सरकारसंग समझदारी भएको उनले बताए ।
संविधान दिवस मनाउनका लागि २ सय १ सदस्य रहेको समिति गठन गरिएको छ ।