पर्यटकीयस्थल गुल्मी धुर्कोटको बिचित्र गुफा ओझेलमा

बिचित्र गुफाका लागि प्रदेश सरकारबाट वजेट विनियोजन

श्यामलाल पोखरेल
बुटवल, असोज ६ गते। गुल्मीको धुर्कोट गाउंपालिकाको बिचित्र गुफा प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । नाम जस्तै बिचित्रै रहेको गुफा २०४५ असार ५ गते भेटिएको हो । ३४ वर्ष अघि भेटिएको गुफाको प्रचार–प्रसार पनि हुन सकेको छैन,भने संरक्षित पनि छैन ।
धुर्कोट गाउंपालिका वडा नम्बर ५ वस्तुको धनार्जी भन्ने ठाउंमा रहेको गुफाको संरक्षणप्रति राज्यले खासै ध्यान नदिएको स्थानीय दीपक भण्डारीले बताए ।
स्थानीयका अनुसार खेती खान भिमकान्त पन्थीको बारीमा पसेको ढेडुवा धपाउने क्रममा जनार्दन भण्डारीले उक्त गुफा भेटाएका थिए ।
असारको महिनामा बारीमा खेती खान पसेको ढेडुवालाई धपाउंै जांदा ढेडुवा खोल्साको झाडीमा पसेपछि उक्त गुफा भेटिएको र गुफाको नाम बिचित्र गुफा राखिएको स्थानीय युवराज भण्डारीले बताए ।
गुफा फेला परेपछि देशका विभिन्न ठाउंबाट गुफा हेर्न आउने मान्छेहरुको भीड लागेको उनले बताए ।
ढेडुवा अहिलेसम्म बाहिर निस्केको कसैले नदेखेकाले उक्त ढेडुवा शिवजीको रुपरहेको धार्मिक पण्डितहरुको भनाइ छ । १ सय ८५ मिटर लामो र ८० फुट उचाई रहेको उक्त गुफा भित्र अनेक प्रकारका आकृतिहरु देख्न सकिन्छ ।
गुफाको उचित संरक्षण गरी प्रचार – प्रसार गरेमा आन्तरिक र बाह्य पर्यटक भित्राउन सक्ने सम्भावना देखिन्छ । तर गुफा भेटिएको ३४ वर्षसम्म पनि गुफामा जाने बाटो छैन, भने गुफा भित्र लाइटकोसमेत व्यवस्था छैन ।
गुफाको ठूलो महत्व भएकाले संरक्षण गरी व्यवस्थित गर्नका लागि वजेटको आवश्यक रहेको गुफा हेरालु भानुभक्त भण्डारीको भनाइ छ ।
पर्यटकीय क्षेत्रको ठूलो सम्भावना रहेको उत्त बिचित्रको गुफाको उचित संरक्षणप्रति तिनै तहका सरकारहरुले ध्यान दिएमा यो गुफाले गुल्मीमा आन्तरिक र बाह्य पर्यटक भित्राउन सकिने सम्भावना छ ।


        गुल्मीको धुर्कोट गाउंपालिका वस्तुस्थित धनार्जीमा रहेको बिचित्र गुफा संरक्षण गरी पर्यटन विकासका लागि लुम्बिनी प्रदेश सरकारबाट १ करोड रकम विनियोजन भएको छ । प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट तत्कालाई १ करोड विनियोजन भएको र डिपिआरका लागि थप ९ करोड रुपैयां विनियोजन उपलब्ध गराउने मन्त्री डिल्लीबहदुर चौधरीले मन्त्रालयमा निर्णय गराएको लुम्बिनी प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले जानकारी गराएका छन् ।
लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषदको नेतृव्वमा पर्यटन पत्रकारहरुको टोली गुल्मीको रिडी, रुरु क्षेत्र, रेसङा र विचित्र गुफासहित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरेको थियो ।
सोही टोलीको नेतृत्व गरिरहेका पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीसहितको टोलीले मन्त्री चौधरीलाई अध्यान प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदन र पत्रकारहरुको रिपोटिङका आधारमा विचित्र गुफाको लागि तत्काल १ करोड र डिपिआरका लागि थप ९ करोडसहित १० करोडको योजना उपलब्ध गराउने मन्त्री चौधरीले निर्णय गराएको जानकारी गराएका छन् ।
बिचित्र गुफाको विकासका लागि तत्कालका लागि काम शुरु गर्न १ करोड र डिपिआरका लागि प्रदेश सरकारले ९ करोड छुट्टाएकाले अब बिचित्र गुफाको विकास हुने सम्भावना रहेको बताए ।
——
लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक राम जोशीले पर्यटकीय स्थलका रुपमा बिचित्र गुफाको संरक्षण र सम्वद्र्वनका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।
गुल्मीका धार्मिक तथा सांस्कृतिक महत्वबोकेका पर्यटकीय क्षेत्र मध्ये बिचित्रको गुफाको आफ्नै महत्व रहेकाले यो गुफालाई पर्यटनसंग जाडेर विकास गर्नुपर्ने बताए ।
लुम्बिनी प्रदेश पर्यटन विकास परिषद् हरि पोखरेलले नाम मात्रै बिचित्र हैन यो गुफा आफैमा बिचित्रको रहेकाले यसलाई देश विदेशमा चिनाउन अब मिडियाकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।
धुर्कोट गाउंपालिकाका अध्यक्ष भुपाल पोखरेलले स्थानीय सरकारको तर्फबाट पनि गुफाको संरक्षण गरी प्रचार–प्रसारका लागि विेशष ध्यान दिएको बताए ।
समग्र गुल्मी र धुर्कोटमा बाह्य र आन्तरिक पर्यटक भित्राउने गरी गुफाको संरक्षण गरिने बताए ।